अपराध महाशाखा एक्शन 

नक्कली रक्सी बनाउने कारखानाका सक्कली अभियुक्तहरू समातिए

बुधबार, माघ ३, २०८०

काठमाडौं–  नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान महाशाखाले काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–५ मा रहेको नक्कली रक्सी बनाउने कारखानाबाट नौ जनालाई समातेको छ।

स्वदेशी र विदेशी ब्रान्डका नक्कली रक्सी बनाउने कारखानामा रहेका सामान जफत गर्दै नौ जनालाई नियन्त्रणमा लिइएको हो। 

विभिन्न ब्रान्डका गणस्तरहीन नक्कली मदिराहरु प्रचलित दरभाउभन्दा कम मूल्यमा बेचविखन गर्दै कालोबजारी गर्ने गरेका थिए। 

रामेछाप घर भएका मनोज खत्री, महेश खत्री, मनिष खत्री र विनोदकुमार कार्की, सिन्धुपाल्चोक घर भएका मोहन खड्का र रोशन कार्की, सिन्धुली घर भएका गौरव तामाङ, लेखविक्रम थापा र काठमाडौँ घर भएका सुमन नगरकोटीलाई महाशाखाको टोलीले नियन्त्रणमा लिएको थियो। 

बिनोद कुमार कार्कीले भाडामा लिई बसेको कोठामा महाशाखाको टोलीले मंगलबार खानतलासी गर्दा नक्कली खुकुरी रम, गोल्डन ओक, फाइटर, सिग्नेचर, ३६५ ब्ल्याक मदिरा फेला पारेको थियो। 

सो क्रममा मदिरा बनाउन प्रयोग गर्ने समानहरु, सगुन ब्राण्डको मदिरा पदार्थ, चिनि–पानी मिश्रीत तरल पदार्थ, विभिन्न रक्सीहरूको खाली बोतल, आन्तरिक राजश्व बिभागको अन्त शुल्कको स्टिकरहरु, लेवलिङ एवं प्याकेजिङ गर्न प्रयोग गरिने सामानहरु लगायत अन्य विभिन्न सामाग्रीहरू प्रहरीले जफत गरेको छ।

यसअघि पनि काठमाडौंमा नक्कली रक्सी बनाउने, विक्रि बितरण गर्ने गिरोहलाई महाशाखाले पक्राउ गरी कारबाहीका लागि पठाएको थियो। 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १३:४९
प्रतिक्रिया दिनुहोस्