घुमघाम

सामाजिक सञ्जालले चिनाएको म्याग्दीको रत्नेचौर

मंगलबार, माघ २, २०८०

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर चारर पाँचवर्ष अघिसम्म गुमनाम जस्तै थियो । पुषरमाघ महिनामा रत्नेचौरको फाँटमा तोरी फुल्दा देखिने दृष्य स्थानीयस्तरमा सीमित थियो । तोरीबारी हेर्न गाउँ बाहिरका मानिस आउँदैन्थ्ये । पछिल्लो तीन वर्षयता भने रत्नेचौरको फाँटमा तोरी फुल्ने याममा पर्यटक आउन थालेका छन् । 

रत्नेचौरको भानु माविका पूर्व प्रधानअध्यापक रहेका स्थानीयवासी टीकाबहादुर महतले रत्नेचौर ‘भाइरल’ बन्नुको कारण सडक कालोपत्र हुनु, सामाजिक सञ्जाल र आम सञ्चार माध्यम भएको बताए । “रत्नेचौरमा यसअघि पनि तोरी खेती हुन्थ्यो र फुल्थ्यो तर यसरी पर्यटक आउँदैनथे,” उनले भने, “रत्नेचौरको फाँटको बिचमा रहेको सडक विसं २०७७ मा कालोपत्र भयो । पहिला प्रवद्र्धन गर्ने प्रविधि थिएन् । सबैको हातमा प्रविधिको पहुुँच पुुगेकाले रत्नेचौर जस्ता ओझेलमा परेका सुुन्दर ठाउँ चिनिएका छन् ।” समथर फाँट र बस्ती रहेको रत्नेचौरको पृष्ठभूमिमा धौलागिरि हिमाललाई अवलोकन गर्न सकिन्छ । कालोपत्र सडकको दायाँ र बायाँका फाँटमा पहेँलपुर फुलेको तोरीबारीको पृष्ठभूमिमा हिमाल हेर्न पाउनु रत्नेचौरको विशेषता हो । सामाजिक सञ्जालमा देखेको दृष्य र तस्बिरबाट लोभिएर रत्नेचौर घुम्न आएको पोखराकी जेनिसा पुनले बताइन् । 

“तोरीबारीमा फोटो खिच्ने र भिडियो बनाउनकै लागि पोखराबाट साथी मिलेर आएका हौँ,” उनले भनिन्, “एकै ठाउँबाट तोरीबारी र हिमाल हेर्न सकिने यहाँको विशेषता रहेछ ।” बेनी र बागलुङ बजारदेखि १५–१५ मिनेटको सवारी यात्रापछि पुगिने रत्नेचौर घुम्न बालबालिका, युवा युवतीदेखि पाका उमेरका पनि आउँछन् ।  दैनिक दुई सयदेखि पाँच सय जनाको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका रत्नेचौरका कुशल शर्माले बताए । “बिदाको दिन तोरीबारी हेर्न आउनेको घुइँचोनै लाग्छ,” उनले भने “अन्य समयमा पनि पर्यटक निरन्तर आइरहेका छन् ।” म्याग्दी, बागलुङ, पर्वत र कास्कीका साथै मुस्ताङ जाने र फर्कने पर्यटक रत्नेचौरको तोरीबारीको सौन्दर्यमा रमाउँछन् । पर्यटकको चहलपहलसँगै व्यापार व्यवसायको अवसर सिर्जना भएको छ । 

रत्नेचौरको फेदी भुवानेमा दुई वटा होटल र रेष्टुरेन्ट खुलेका छन् । रत्नेचौरदेखि बागलुङको कुडुले जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल पनि निर्माण भएकाले रत्नेचौर घुम्नेका लागि नयाँ आकर्षण थपिएको छ । परम्परागत रुपमा हुँदै आएको तोरीखेती पर्यटकको आकर्षण बनेपछि यसलाई व्यावसायिक र पर्यटन आकर्षणको रूपमा विकास गर्न योजना बनाइएको बेनी नगरपालिका–१ रत्नेचौरका वडाध्यक्ष टेकबहादुर थापाले बताए ।  “रत्नेचौरलाई कृषि पर्यटनको गन्तव्य बनाउने योजना अघि सारेका छौँ,” उनले भने, “श्रीलक्ष्मीहरि मन्दिर, लामो झोलुङ्गे पुल, बुढोपोखरी रहेको रत्नेचौरको सम्भावना उजागर गर्न तोरी महोत्सव गर्ने योजना छ ।” 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १९:३१
प्रतिक्रिया दिनुहोस्