एक हप्ताभित्र लिखित विवरण मन्त्रालयमा उपलब्ध गराउनूस् : उपप्रधानमन्त्री खड्का

आइतबार, पुस २९, २०८०

काठमाडौँ– उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षा नीति नेपालको भौगोलिक अखण्डता, स्वतन्त्रता, सार्वभौमसत्ता, नेपाली माटो, नेपाली जनताको जीवनको सुरक्षासँग सम्बन्धित महत्त्वपूर्ण र संवेदनशील विषय भएकोले यसको कार्यान्वयनमा सबैले आफ्नो जिम्मेवारीमा परेका क्रियाकलापलाई कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् ।

रक्षा मन्त्रालयमा भएको  राष्ट्रिय सुरक्षा नीति–२०७५ कार्यान्वयनको एकीकृत कार्ययोजना, २०७७ को प्रगति समीक्षा कार्यक्रममा उनले सरकारका सबै मन्त्रालय, नेपाली सेना, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायहरू सबैले पूर्ण स्वामित्व र अपनत्व लिँदै गम्भीरतासाथ जिम्मेवारीमा पूरा गर्न आवश्यक रहेको  बताएका हुन् । 

उनले कार्यक्रममा उपस्थित सबै मन्त्रालय तथा निकायका प्रतिनिधिहरूलाई राष्ट्रिय सुरक्षा नीति, २०७५ को कार्यान्वयनको एकीकृत कार्ययोजना–२०७७ मा आ–आफ्नो मन्त्रालय र निकायलाई जिम्मेवारी तोकिएका विषयमा हालसम्म भएका प्रगतिहरू र कार्यान्वयनमा देखिएका समस्या तथा सम्बोधन गर्नुपर्ने विषयमा एक हप्ताभित्र लिखित रूपमा रक्षा मन्त्रालयमा विवरण उपलब्ध गराउन आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय सुरक्षा नीति, २०७५ कार्यान्वयनको एकीकृत कार्ययोजना, २०७७ मा उल्लेख भएका मन्त्रालय तथा निकायहरूका प्रतिनिधिहरूले आ-आफ्नो मन्त्रालय तथा निकायलाई जिम्मेवारी तोकिएका विषयमा भएको प्रगति, कार्यान्वयनमा देखिएका समस्या तथा चुनौती र कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि आगामी दिनमा चाल्नुपर्ने कदम तथा उपायहरू सम्बन्धमा आ–आफ्नो धारणा राखेका थिए ।

समीक्षा बैठकमा राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले राष्ट्रिय सुरक्षा नीति राष्ट्र र जनतालाई बलियो बनाउने नीति भएकोले नेपाल सरकारका अरू नीतिहरू यो नीतिसँग सामञ्जस्य हुने गरी तर्जुमा तथा कार्यान्वयन हुनुपर्ने कुरा औँल्याए ।  

नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले राष्ट्रिय सुरक्षा नीति रक्षा मन्त्रालय तथा नेपाली सेनाको मात्र विषय नभएर नेपाल सरकारका सबै मन्त्रालय तथा निकायको साझा जिम्मेवारीको विषय भएकाले सबैको सहयोग र समन्वयमा यो नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिए ।

बैठकमा  विभिन्न मन्त्रालयका सचिव, नेपाली सेनाका रथीवृन्द, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायत विभिन्न मन्त्रालय तथा निकायका सुरक्षा नीति कार्यान्वयनसम्बद्ध फोकल पर्सनहरूको उपस्थिति थियो। कार्यक्रम रक्षा मन्त्रालयका निमित्त सचिव बाबुराम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १८:४४
प्रतिक्रिया दिनुहोस्