चन्द्रागिरि जिप दुर्घटनामा मृतकको संख्या ५ पुग्यो

शनिबार, पुस २८, २०८०

काठमाडौँ– चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतोपहरामा शनिबार दिउँसो भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

दुर्घटनामा घाइते छ वर्षीया स्मारिका गौतमको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

काठमाडौँबाट चित्लाङतर्फ जाँदै गरेको प्र३.०१.२३ च ६९८५ नम्बरको गाडी अनियन्त्रित भई सडकदेखि अन्दाजी पाँच सय मिटर तल खसेको थियो । दिउँसो १ बजेर ५५ मिनेटमा भएको दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनास्थलमै मृत्यु हुनेमा काठमाडौँ मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, सोही स्थानका ६४ वर्षीया कल्पना तिवारी, काठमाडौँ लाजिम्पाटका डा महेशकुमार गौतम र सोही ठाउँका चार वर्षीय प्रियान्स गौतम थिए ।

दुर्घटनामा स्मारिकाकी आमा डा. सृष्टि तिवारी गौतम सकुशल रहेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ । –रासस

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १८:५९
प्रतिक्रिया दिनुहोस्