दाङ दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो , १७ जना घाइते

शनिबार, पुस २८, २०८०

काठमाडौं - दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा कम्तिमा १२ जनाको मृत्यु भएको छ । १७ जना घाइते छन् ।

बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खसेको थियो ।

दुर्घटनामा एक महिला र ११ पुरुष गरी १२ जनाको मृत्यु भएको घटनास्थलमा रहेका राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए ।

धेरैजसोको बसले च्यापिएर मृत्यु भएको छ । घाइतेहरुलाई उपचारका लागि बुटवल र नेपालगन्ज पठाइएको छ ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार १२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । मृतकहरुको सनाखत भएको छैन ।

बस पुलको रेलिङ भाँच्दै दायाँतर्फ राप्ती नदीमा खसेको छ । राप्ती नदी माथि बनेको यो पुलले दाङ र अर्घाखाँची जिल्लालाई जोड्दछ ।

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  ०६:३३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार