रामबहादुर बमजन महोत्तरी कारागार चलान

बिहीबार, पुस २६, २०८०

काठमाडौँ– यौनहिंसाको आरोपमा पक्राउ परेका 'तपस्वी' रामबहादुर बमजनलाई महोत्तरी कारागार पठाइएको छ । 

जिल्ला अदालत, सर्लाहीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनलाई महोत्तरी कारागार पठाइएको हो ।

हत्या र यौन हिंसाको आरोपमा पक्राउ परेका बमजनलाई आज अदालतमा पेश गरिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बमजनलाई मंगलबार पक्राउ गरेको थियो ।

चार जना व्यक्ति बेपत्ता र अनुयायीमाथि बलात्कार तथा बाल यौन दुराचार गरेको आरोप लागेपछि बमजन प्रहरी खोजीमा थिए । २०७१ साल साउन महिनादेखि बाराको हलखोरियास्थित आश्रममा काम गर्ने एक नाबालिका आनीले जाहेरी दिएपछि बमजनको खोजीमा प्रहरी लागिरहेको थियो ।

बमजनले बलात्कार तथा यौन शोषण गर्ने गरेको जाहेरी परेपछि प्रहरीले उनीविरूद्ध २०७६ साल माघ २३ गते सर्लाही जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएको थियो। बमजनको आश्रमबाट हालसम्म चार जना बेपत्ता भएको खुलेको छ । तिनीहरूमध्ये एक हुन् २९ वर्षीया चुन्मो भनिने चिनिमाया तामाङ।

नुवाकोट मेधाङ गाउँपालिका–३ घर भएकी उनी सिन्धुपाल्चोकस्थित बाडेगाउँको आश्रमबाट बेपत्ता भएकी थिइन् । ब्युरोका एसएसपी दिनेश आचार्यका अनुसार उनी २०६९ साल असोज महिनाबाट बेपत्ता छिन्। उनी अहिलेसम्म कहाँ छिन् खुलेको छैन ।

यस्तै, सिन्धुपाल्चोक बाडेगाउँ आश्रमबाट बेपत्ता भएका अर्का व्यक्ति हुन् ५१ वर्षीय सञ्चलाल वाइब, हेटौंडा उपमहानगरपालिका९१३ घर भएका उनी २०७१ साल चैत १४ गतेबाट बेपत्ता भएका थिए ।

सिन्धुपाल्चोक बाडेगाउँकै आश्रमबाट बेपत्ता भएकी तेस्रो व्यक्ति हुन् फूलमाया रुम्बा। ३० वर्षीय रुम्बा हेटौंडा उपमहानगरपालिका–१६ की हुन् । उनी २०७१ साल माघ महिनाबाट बेपत्ता भएकी थिइन्। यसैगरी, बमजनको आश्रमबाट बेपत्ता भएका चौथो व्यक्ति ३४ वर्षीय सुरेशकुमार आले हुन्।

उनी निजगढ नगरपालिका–१२ खुमजोरस्थित बमजनको आश्रमबाट २०७२ जेठ महिनामा बेपत्ता भएका थिए। उनी जितपुर सिमरा उपमहानगरपालिका–१५ बडहर्वाका हुन् । –रासस

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १९:२८
प्रतिक्रिया दिनुहोस्