उठिहरेको कदमा यौन चाहनाको छायाँ– कसले भन्यो पिरतीमा उमेर हुँदैन?

बिहीबार, पुस २६, २०८०

श्रीविन्दुमा भन्छु– यो टिप्पणी सन्दीप लामिछाने प्रकरणमा पीडित कायम भएकी ‘गौशाला २६’लाई प्रताडित बनाउने उद्देश्यले गरिएको होइन। 

कानुनका कतिपय धारा अनि मुलुकी ऐनका व्यवस्था र घटनाक्रमका आफ्ना व्याख्या होलान्। तर, कसले भन्यो पिरतीमा उमेर हुँदैन? हेर्नुस् त पिरतीमा उमेर मुद्दा बन्यो अनि जबरजस्ती करणी फैसलामा आधार बनिदियो। 

अन्तर्राष्ट्रिय प्रतियोगिताका विभिन्न सेरिजमा बेनाम उदाइरहेको ठिटो, आईपीएलदेखि विभिन्न देशका घरेलु प्रतियोगितामा अथाह माग भएको केटो, राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी पाएको गहनालाई कोर्टले भन्यो– सन्दीप इज गिल्टी!

यो खरायो र कछुवाको कथा होइन। उठिरहेको कदको मर्यादा र सीमाको रेखाङ्कन भएन भने, अझ व्यक्तित्वलाई कायम राख्ने लक्ष्मण रेखा भएन भने सन्दीपहरूको यौन सम्बन्ध केन्द्रित पिरती विष बनिदिन्छ। यो, अरु कसैको कारणले भन्दा पनि आफ्नै महत्वकांक्षा र अहंकारको कारणले गर्दा भयो।

पिरतीमा घुम्न पाइन्छ, रमाउन पाइन्छ, फिल्म पनि हेर्न पाइन्छ। होटलको कोठासम्म सँगै जान पनि पाइन्छ। तर, जबरजस्ती गर्न पाइँदैन। त्यसकारण त्यो मूर्ख हो– जसले भन्यो, पिरतीमा उमेरको सीमा हुँदैन। अहिलेको पिरती भनेको काँडेतारको लक्ष्मण रेखा हो, त्यसैले सोचेर माया लगाउनू!

साहित्यमा पढ्दा मजा आउँछ। 

भनिन्छ नि,  मायाले उमेरको भिन्नता थाहा पाउँदैन; दुई आत्माको सम्बन्धलाई मात्र थाहा पाउँछ। उमेर एउटा संख्या मात्र हो; प्रेम अनुकूलता र समझ हो जुन सम्बन्धमा साँच्चै महत्वपूर्ण छ।

प्रेमलाई उमेरको सीमा थाहा छैन। उमेरले तपाईंलाई प्रेमबाट जोगाउँदैन। तर प्रेमले केही हदसम्म तपाईलाई उमेरबाट जोगाउँछ। यस्तै..यस्तै।

कतिपय सेलिब्रिटीदेखि महान् हस्तीले भन्ने गर्छन्। प्रेममा सेक्स जायज हुन्छ। सानो कम्पोनेन्ट मात्र हो। खास त मन मिल्नुपर्छ। तन मिल्ने कुरा त निमेषको पाटो हो। 

सहरमा अहिले प्रेमील जोडी कति होलान्? तिनको उमेरको सीमा कति होला? हाम्रो मुलुकी ऐनले तय गरेको सीमाभित्र पर्छ कि पर्दैन?

प्रेमको अंकुर किशोरवयमा नै पलाउने गर्छ। यो समान हिसाबले नै पलाउँछ। तर, पिरती लगाउँदै गर्दा यौन सम्बन्धको चाहनालाईचाहिँ बन्धकी राख्नुपर्छ, कानुनतः किनभने यसमा उमेर पुगेको विषय मात्र छैन, मञ्जुरीको कैफियत पनि छ। त्यसैले मुलुकी ऐनमा बलपूर्वक करणी मान्य छैन। जबरजस्ती करणी अमान्य छ। त्यो अपराध हो। 

यहि व्याख्याभित्र अदालतले सन्दीपलाई सजाय सुनाएको हो, ८ बर्ष जेल। अहिले केही व्यक्ति, अधिकारकर्मीले अदालतलाई धन्यवाद दिएका छन् अनि गौशाला २६ लाई न्याय पाएको भनी हौसला।

तर के यो यत्तिकैमा टुंगिएला त? गौशाला २६ ले मुटु ढुंगाको बनाउनुपर्ने स्थिति सुरु भएको जस्तो लाग्छ मलाई। यो मुद्दा अब उच्च अदालत, त्यसपछि सर्वोच्च अदालतसम्म पुग्न सक्छ। त्यसबेला हरेक पेशी, बयान, प्रमाणका विषय प्रश्नमाथिका प्रश्न र उत्तर दिँदा दिँदै थाक्ने दिन पनि आउन सक्छन्। यस अर्थमा भनिएको छ कि सन्दीपका वकिल उच्च अदालत जाँदैछन्। यसकारण भन्दैछु कि, न्याय दुवै पक्षलाई चाहिएको छ। यो विन–विन सिचुएशनमा सकिने मुद्दा रहेन अब। 

सन्दीपले जिते उनले गुमाएको प्रतिष्ठा र साखको प्रश्न हुनेछ। गौशाला २६ ले जिते न्यायका लागि फलामका निक्कै वटा बलिया ढोका पार लगाउँदै, सुन्दै र प्रताडित हुँदै पुग्नुपर्ने हुन्छ। 

धेरै छन् पार गर्नुपर्ने पाइलाहरू अब। असामयिक हिसाबले मुलुकी ऐनमा कायम गरिएका परिच्छेद र उमेरका ब्याख्या अवैज्ञानिक नै छन् भन्ने पक्कापक्की छ।

त्यसैले कद उठेको मानिसले क्षणिक लाभमा कसैको भावना नबुझी गर्ने करणीले जीवनमा धेरै कुरा गुमाउनुपर्छ भन्ने मात्र होइन, ठूलो उचाईंको व्यक्तित्वसँग गरिएको संगतीले सामाजिक रुपमा प्रताडित र न्यायका लागि संघर्ष गर्नुपर्ने पनि बनाउने रहेछ भन्ने पाठ सिक्ने कि नसिक्ने? यस प्रकरणबाट केही न केही त सिक्नुपर्ने नै हुन्छ।
 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १२:११
प्रतिक्रिया दिनुहोस्