कथित लिटिल बुद्ध 

पत्नी भेट्न आएका बमजनको घरमा साढे ३ करोड क्यास भेटियोः ‘सीआईबीले सर्लाही पठाउँछ’ 

बुधबार, पुस २५, २०८०

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार पक्राउ गरेका यौनहिंसा, हत्यालगायतमा अभियुक्त लिटिल बुद्ध उपनामले चिनिने रामबहादुर बमजनलाई बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पठाइने भएको छ। 

सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरिक्ष (एआईजी) किरण बज्राचार्यका अनुसार बमजनविरुद्ध पक्राउ पूर्जी जारी गरेको सर्लाही प्रहरीलाई अनुसन्धानका प्रगतिसहित जिम्मा लगाइनेछ।  
उनले क्यानडा नेपालसित भनिन्,‘विस्तृत जानकारी पत्रकार सम्मेलनमार्फत गरेर आजै सर्लाही पठाइनेछ।’

अनुसन्धानका क्रममा बमजनको घरबाट तीन करोड ३० लाख नेपाली रूपैयाँ भेटिएको छ। यसबाहेक अन्य देशका मुद्रा पनि फेला परेका छन्।  बुढानिलकण्ठको हात्तीगौडास्थित घरमा मंगलबार साँझ सीआईबीले सूचनाका आधारमा छापा मार्दा बमजन पक्राउ गरिएका हुन्। उनी पत्नी भेट्नका लागि आएको बताइन्छ।

उनको साथबाट १५ वटा मोबाइल, तीनवटा ल्यापटप र ३५ वटा पेनड्राइभ पनि बरामद गरिएको छ। उनीविरुद्ध सिन्धुपाल्चोक र मकवानपुरमा मान्छे बेपत्ता बनाएको मुद्दा छ भने सर्लाहीमा बाल यौन दुराचारको मुद्दा छ।

सर्लाहीमा बाल यौन दुराचारको मुद्दा चलाइने छ भने सिन्धुपाल्चोक र मकवानपुसरबाट पनि मुद्दा चलाउने तयारी भएको छ। 

आनीसहित ४ जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोपमा प्रहरीले उनलाई खोजिरहेको थियो।

लामो समयसम्म प्रहरीसँग भागीरहेका उनलाई फेला पार्न निक्कै सकस परेको थियो। तर, सीआईबीले उनलाई रेकीमा राखेका कारण पक्राउ गर्न सफल भएको हो। 
 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  ११:३१
प्रतिक्रिया दिनुहोस्