सीआईबीको अप्रेशन

यौन दुराचारी बमजन समात्न प्रहरीले पाएको सफलता, के छन् अभियोग ?

बुधबार, पुस २५, २०८०

काठमाडौं– लिटिल बुद्ध नामका यौन दुराचारी रामबहादुर बमजन नियन्त्रणमा लिनु नेपाल प्रहरीका लागि केही बर्षयता चुनौति थियो। तर, मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई सफलता मिलेको छ ।

बमजनमाथि निक्कै प्रकारका अभियोग छन्। प्रहरीले ७७ जिल्लामा नै उनलाई पक्राउका लागि सर्कुलेसन जारी गरे पनि यो सफलता सीआईबीले प्राप्त गरेको छ। सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक किरण बज्राचार्यले बमजन खोजीका लागि स्पेशियल फोर्सलाई निर्देशन दिएकी थिइन्।

सीआईबीका प्रवक्ता प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) नवराज अधिकारीले आश्रममा बस्दा त्यहाँ काम गर्ने विभिन्न युवतीलाई शोषण गरेको, बेपत्ता गराएको लगायतका आरोप बमजनलाई रहेको बताएका छन्।

बमजनको अभियोगबारेका उजुरी आउने क्रम बढेको पनि प्रहरी अधिकारीले बताउँछन् । बमजनबारेको सबै जानकारी र विवरण बुधबार सीआईबीले सार्वजनिक गर्ने तयारी गरेको छ।

मध्य तराईको बाराको एउटा एकान्त वनमा एक ठूलो पीपलको बोटमुनि ध्यान गरिरहेका कलिला रामबहादुर बमजनले सन् २००५ मा एकाएक चर्चा बटुलेका थिए।

सोह्र वर्षीय बमजनले जङ्गलमा ध्यान गर्न सुरु गरेका थिए। त्यसयताका वर्षमा उनी विभिन्न विवादमा जोडिन थाले।

पाँच वर्षअघि नै सिन्धुपाल्चोकस्थित उनको आश्रममा गएका अनुयायीहरू त्यहाँबाट नफर्किएका भन्ने विवरणसहित विभिन्न जिल्ला प्रहरी कार्यालयमा परेका मुद्दामा प्रहरीले छानबिन थालेको थियो।

त्योसँगै सिन्धुपाल्चोकको बाडेगाउँस्थित आश्रम सिलबन्दी गरेर अनुसन्धान थालिएको थियो।

२०७१ साल चैत १४ गतेदेखि सम्पर्कविहीन भएका वाइबाका परिवारका तर्फबाट किटानी जाहेरी परेपछि प्रहरीले बमजनको आश्रममा अनुसन्धान सुरु गरेको थियो।

तर सर्लाही जिल्ला अदालतले उनीविरुद्ध परेका अभियोगबारे अनुसन्धान अघि बढाउन बमजनलाई पक्राउ गर्न अनुमति दिएपछि उनको खोजतलास तीव्र पारिएको थियो।

बारा, सिन्धुपाल्चोक, लमजुङ र सर्लाही जिल्लामा समेत उनका आश्रममा रहेको जानकारी बीबीसी नेपाली न्युजले प्रकाशित गरेको छ।

बमजनआबद्ध संस्थाको वेबसाइट मैत्रीय डट इन्फोमा उपलब्ध जानकारीअनुसार उनको जन्म सन् १९९० को एप्रिल १० तारिखमा रतनपुर बारामा भएको थियो।

उनका मातापिता किसान थिए। उनकी आमाको १२ वर्षको उमेरमा विवाह भएको थियो। उनका आमाबुवाका नौ सन्तान छन्। उनी साहिँला छोरा हुन्।

उनले कलिलो उमेरमै ध्यानमा मग्न भएर सबैलाई आश्चर्यचकित बनाएको बताइन्छ।

सन् २००५ मा उनका परिवार, साथीभाइ र अनुयायीले बमजन छ महिनासम्म पानी पनि नपिएर ध्यानमा लीन भएको र बुद्धत्व प्राप्त नहुँदासम्म उनी ध्यानमै रहने दाबी गरेका थिए।

उक्त विवरणका अनुसार गौतम बुद्ध र बमजन दुवैका आमाको नाम मायादेवी भएकाले स्थानीयवासीहरूले उनले गरेको तपस्यालाई सिद्धार्थ गौतम बुद्धसँग जोडेर हेरेका थिए।

उनलाई खासगरी केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ‘लिटल बुद्ध’को उपनाम पनि दिएका थिए।

तपस्या गर्ने क्रममा उनी बीचबीचमा हराउने र केही समयपछि फेला पर्ने क्रम चलिरह्यो। सोह्र वर्षको उमेरमा तपस्या गर्न सुरु गरेका बमजन पहिलो पटक १० महिना लामो ध्यान बसेकै बेला अचानक सम्पर्कविहीन भएको बताइन्छ।

तपस्यामा रुचि र बुद्धसँगको तुलनाका कारण उनी ध्यान बसेको स्थानआसपास उनलाई हेर्न मात्र आउने आगन्तुक र भक्तजनहरूको भिड लाग्ने गर्न थाल्यो।

अनुयायीहरूले बिस्तारै उक्त क्षेत्रलाई धार्मिक ध्वजापताकाले सुसज्जित गरेपछि उक्त स्थान बिस्तारै धार्मिक स्थलमा परिणत हुँदै गयो।

नेपालमा मात्र नभएर विश्वव्यापी रूपमै चर्चा बटुल्न सफल उनी यति चर्चित भए कि उनले निकै कम समयमा सामान्य बुद्धभक्तबाट चर्चित तपस्वीको भेष धारण गरे।

देशका विभिन्न ठाउँहरूमा आश्रम खोले र नेपालभित्र र बाहिर आफ्ना अनुयायीहरूको संख्यासमेत क्रमिक रूपमा बढाउँदै लगे। तर विस्तारै उनको लोकप्रियता अपराधका कारणले कुख्यातीतिर लम्कियो। उनीविरुद्ध विभिन्न अपराधका अभियोगका विषयमा विस्तृत विवरण सार्वजनिक हुने सीआईबी प्रवक्ता एसएसपी अधिकरीले क्यानडा नेपाललाई बताए।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  ०९:५०
प्रतिक्रिया दिनुहोस्