बहरथवामा एक जनाको मृत्यु प्रकरण

सर्लाहीका सीडीओ र एसपीको मत किन बाझियो?

शनिबार, पुस २१, २०८०

सर्लाहीप्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको प्रकरणमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कोमलप्रसाद धमला प्रहरी उपरिक्षक (एसपी) प्रवीण धितालको मत बाझिएको छ।

सीडीओ धमलाले गोली चलाउने आदेश नदिएको बताएपछि प्रहरीलाई मात्र दोषी देखाउन खोजिएको छ। तर, एसपी धितालले भने प्रहरीको बन्दुक खोस्न थालेपछि गोली चल्दा एक जनाको मृत्यु भएको बताएका छन्।

तर स्वास्थ्य चौकीको विषयमा आन्दोलन उग्र हुँदै मेयर कल्पनाकुमारी कटुवालको घरमा नै तोडफोड हुने स्थिति आएपछि प्रहरीले बल प्रयोग गरेको थियो। सो क्रममा झडप हुँदा स्थिति नियन्त्रणमा लिन गोली चलाइएको एसपीले बताएका छन्। १३ राउन्ड गोली चलेको छ।

स्थितिबारे सीडीओ जानकार नभई गोली चल्ने अवस्था हुँदैन। तर धमलाले मृतकलाई गोली लागेको भन्नेमा स्पष्ट जानकारी नभएको मात्र बताएका छैनन्, आदेश समेत नदिएको भनेका छन्।

बरहथवामा आन्दोलन अझ उग्र हुने स्थिति भएपछि कफ्र्यु लगाइएको थियो। त्यसलाई निरन्तरता दिइएको छ। कफ्र्युको आदेश सीडीओले नै जारी गर्छन्।

प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतीका विषयमा जनप्रतिनिधिबीच विवाद भएपछि सत्ताधारी दलका प्रतिनिधि नै आन्दोलनमा उत्रिएका थिए।

प्रहरीको गोली लागेर सर्लाही होटलका संचालक ३० वर्षीय जयशंकर साहको मृत्यु भएको थियो। उनको शव अहिले पनि सडकमा नै रहेको बताइन्छ। प्रहरीले गोली चलाउँदा उनको टाउकोमा लागेको थियो।

मृतक साह आन्दोलनमा नरहेको पनि बताइन्छ। तर, प्रहरीले ताकेर गोली नहान्ने, भिड तितरवितर पार्दा कहाँ कसलाई गोली लाग्छ भन्ने कुरा पनि थाहा नहुने बताइन्छ।

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १०:१३
प्रतिक्रिया दिनुहोस्