रुसी सहरमा युक्रेनकाे हमलापछि

युक्रेनमाथिको आक्रमण ‘तीव्र’ बनाउने पुटिनको भनाइ

सोमबार, पुस १६, २०८०

मस्को– राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सहर बेलगोरोडमा सप्ताहन्तमा अभूतपूर्व हमलापछि मस्कोले युक्रेनमा सैन्य लक्ष्यहरूमा आक्रमणलाई तीव्र पार्ने सोमबार बताएका छन् । 

बेलगोरोडमा शनिबार भएको हमलामा २४ जनाको मृत्यु र एक सयभन्दा बढी घाइते भएका थिए । मस्कोले युक्रेनी सहरहरूमा ठूलो मात्रामा आक्रमण गरेपछि बेलगोरोडमा हमला भएको हो । 

“हामी आक्रमणलाई तीव्र बनाउँदै छौँ, नागरिकहरूविरुद्धको कुनै पनि अपराध सजायबिनाको रहने छैन, यो निश्चित हो”, सोमबार एक सैन्य अस्पतालको भ्रमणका क्रममा पुटिनले भने । रुसले ‘सैन्य प्रतिष्ठानहरू’मा हमला गर्नका लागि दबाब बढाउने उनको भनाइ थियो । 

मस्कोले युक्रेनमा गरेको आक्रमणको करिब दुई वर्षपछि राष्ट्रपति पुटिनले भने, “हामी आज त्यो गर्दैछौँ र भोलि पनि हामी यस्तै गरिरहने छौँ ।” रुसले नयाँ वर्षको दिन आफूमाथि ‘रेकर्ड’ सङ्ख्यामा ड्रोन हमला गरेको युक्रेनले बताएपछि पुटिनको सो भनाइ आएको हो । 

पुटिनले बेलगोरोड हमलालाई ‘आतङ्कवादी हमला’ भने । ‘नयाँ वर्षको पूर्वसन्ध्याभन्दा ठीकअघि मानिसहरू टहलिरहेको सहरको केन्द्रमा’ निशाना बनाएको उहाँले आरोप लगाए । उनले रुससँग ‘आफ्ना समस्याहरू सुल्झाउन’ पश्चिमी मुलुकहरूले युक्रेनलाई प्रयोग गरिरहेको दाबीलाई दोहोर्याए । उनले द्वन्द्वमा ‘रणनीतिक पहल’ रुसको पक्षमा भएको विश्वास गरेको बताए । 

इन्टरफ्याक्स समाचार एजेन्सीका अनुसार उनले भने, “कुनै पनि अवस्थामा मलाई यस्तो प्रकारको जानकारी दिइन्छ र कुनै पनि आक्रामक कारबाही शत्रुको पराजयपछि गर्नुपर्छ भन्ने कुरामा म सधैँ जोड दिन्छु ।”

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  २०:५१
प्रतिक्रिया दिनुहोस्