पश्चिमले सर्बियालाई ‘अस्थिर’ बनाउने प्रयास गरिरहेको छ : रुस

सोमबार, पुस ९, २०८०

मस्को– रुसले सोमबार मस्को–मैत्री बाल्कन मुलुक सर्बियामा पश्चिमी मुलुकहरूले तनाव उत्पन्न गरेको आरोप लगाएको छ । डिसेम्बर १७ मा भएको निर्वाचनमा कथित जालसाजीलाई लिएर भएको विरोध प्रदर्शनले सर्बियामा अस्थिरता उत्पन्न भएको छ । 

एक दिनअघि मात्र प्रदर्शनकारीहरूले बेलग्रेड सिटी हलमा आक्रमण गर्ने प्रयास गरेका थिए । प्रदर्शनकारीहरूले संसदीय र स्थानीय निर्वाचनका परिणामहरूलाई अस्वीकार गरेका छन् । निर्वाचनमा राष्ट्रपति अलेक्जेन्डर भुकिकको पार्टीले उसले सानदार जित हासिल गरेको बताएको छ । 

रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जखारोभाले सरकारी समाचार समिति आरआइए नोभोस्तीसँग भने, “सर्बियामा स्थितिलाई अस्थिर बनाउन पश्चिमको सामूहिक प्रयास स्पष्ट छ ।” क्रेमलिनले निर्वाचन परिणामहरूको स्वागत गरेको छ । प्रवक्ता दिमित्री पेसकोभले निर्वाचन परिणाबाट सर्बिया र रुसबीचको ‘मित्रता थप सुदृढ हुने’ मस्कोले आशा गरेको बताए । 

सर्बिया र रुसबीच ऐतिहासिकरूमा घनिष्ठ सम्बन्ध छ र बेलग्रेड युक्रेनमाथि भएको आक्रमणका लागि मस्कोविरुद्ध अन्तर्राष्ट्रिय प्रतिबन्धहरूमा सहभागी भएको छैन । यद्यपि सर्बियाले संयुक्त राष्ट्रसङ्घमा रुसको आक्रामकताको निन्दा गरेको छ र उसको समर्थनबाट विवाद उत्पन्न भएको छ ।  

सर्बिया करिब सम्पूर्णरूपमा रुसी ग्यासमा निर्भर छ । उसको विपक्षीहरूले संसदीय निर्वाचनका क्रममा खराब खेल भएको गुनासो गरेका छन् ।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १८:०४
प्रतिक्रिया दिनुहोस्