मानव तस्करीको आशङ्कामा फ्रान्समा पक्राउ परेका ३ सय बढी भारतीयसँग सोधपुछ सुरु

आइतबार, पुस ८, २०८०

फ्रान्स– मानव तस्करीको आशङ्कामा पेरिस नजिकै हिरासतमा राखिएका विमानमा यात्रा गरिरहेका तीन सयभन्दा धेरै भारतीयसँग चार फ्रान्सेली न्यायाधीशले आइतबार सोधपुछ सुरु गरेका छन् ।

मानव बेचबिखनका सम्भावित पीडितहरूलाई लैजाँदै गरेको भन्ने अज्ञात सूचनापछि बिहीबार दुबईबाट इन्धन भर्न आइपुगेको निकारागुवा जाँदै गरेको एयरबस ए३४० लाई पेरिसबाट १५० किलोमिटर (९५ माइल) पूर्व भट्री विमानस्थलमा राखिएको छ । सीमा प्रहरीले प्रयोग गरिरहेको हिरासतमा राख्ने आदेशलाई सुरुमा आठ दिनसम्म र आवश्यक परेको अवस्थामा थप आठ दिन बढाउने अधिकार न्यायाधीशरूलाई छ । 

यात्रीहरूसँग कुराकानी गर्नका लागि उनीहरूसँग दुई दिनको समय छ । “लक्ष्य भनेको सबैलाई हेर्न सक्षम हुनु हो”, चालोन्स–एन–स्याम्पेन क्षेत्रका अभियोजक एनिक ब्राउनले भने । अनुवादकहरूले न्यायाधीशहरूलाई सहयोग गरिरहेका छन् । 

रोमानियाली कम्पनी लिजेन्ड एयरलाइन्सको उडानमा रहेका तीन सय तीन यात्री विमानस्थलमै अलपत्र परेका छन् । पेरिस अभियोजकहरूका अनुसार यात्रीमध्ये ११ जना बिनासहाराका नाबालिग रहेका छन् । मामिलासँग सम्बन्धित एक स्रोतले दस यात्रीले शरणका लागि अनुरोध गरेका छन् । 

त्रिपालले प्रवेश कक्षको सिसा र बाहिरी भाग तथा नजिकका प्रशासनिक भवनहरूलाई ढाकेको छ । प्रहरी र अर्धसैनिकले प्रवेशमाथि रोक लगाएका छन् । पेरिस अभियोजकको कार्यालयका अनुसार शुक्रबार हिरासतमा लिइएका दुई यात्रीको हिरासत अवधि शनिबार साँझ ४८ घन्टासम्म बढाइएको छ ।

उनीहरूको भूमिका यो यात्रामा अरुभन्दा फरक हुन सक्छ र कुन अवस्था तथा उद्देश्यका साथ हुनसक्छ भनेर प्रमाणित गर्नका लागि हिरासतमा राखिएको हो । अभियोजकहरूका अनुसार अनुसन्धानकर्मीहरूले यात्री तथा उडान चालक दलको पहिचान जाँच गरेका छन् र उनीहरूको यात्राको ‘स्थिति र उद्देश्य’ प्रमाणित गरिरहेका छन् 

पेरिसमा भारतीय दूतावासले शनिबार उसले ‘स्थितिको द्रुत समाधान’ का लागि काम गरिरहेको बताएको छ । सामाजिक सञ्जाल एक्समा दूतावासले भनेको छ, “वाणिज्य दूत घटनास्थलमा हुनुहुन्छ ।” 

मार्नेका नागरिक सुरक्षा प्रमुख प्याट्रिक जालोक्सले विमानस्थमा तीन रात बिताएपछि यात्रीहरू स्वाभाविकरूपमा ‘निराश’ रहेको बताउनुभयो । उहाँका अनुसार तीमध्ये केही भारतको राष्ट्रिय भाषा हिन्दी बोल्छन् भने अन्य दक्षिणी भारत र श्रीलङ्काका केही भागमा बोलिने भाषा तमिल बोल्छन् । “उनीहरू आफ्ना परिवारसँग सम्पर्कमा छन्”, उनले भने । 

निकारागुवा हुँदै अमेरिका वा क्यानाडा जान खोजेका ती भारतीय यात्रीहरू सम्भवतः संयुक्त अरब इमिरेट्स ९युएई० का कामदार रहेको सोधपुछसँग सम्बन्धित निकट स्रोतले एएफपीलाई बताएको छ । 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १८:४४
प्रतिक्रिया दिनुहोस्