आँखा शिविरमा

‘आँखा देखाउने डाक्टरलाई आर्शिवाद छ’

बिहीबार, पुस ५, २०८०

टक्सार– दुर्गम पहाडी जिल्ला भोजपुरमा तीन दिनसम्म सञ्चालन भएको आँखा शिविरमा एक सय ३२ जनाको आँखाको शल्यक्रिया भएको छ । स्थानीय ठाउँमा सञ्चालित शिविरमा आँखाको शल्यक्रिया भएर स्पष्ट देख्न थालेपछि ८० वर्ष नाघेका वृद्धवृद्धा सबैभन्दा धेरै खुसी देखिए । 

भोजपुर नगरपालिका दाँवा घर भएकी ८२ वर्षीया लक्ष्मीदेवी चौहानले शिविरमा आँखाको शल्यक्रिया गराइन् । उनले आँखा देख्न थालेपछि भनिन्, “हामीलाई आँखा देखाउने डाक्टरलाई राम्रो होस्, आर्शिवाद छ । सधैँ धमिलो आँखा देख्थे अहिले सबै देख्न थालेकी छु ।”

उनीमात्र होइन भोजपुर–७ की सीता भुजेल पनि आँखाको शल्यक्रिया भएपछि खुसी छिन् । शिविरमा पाँचथरकी तुलसी राईले आँखाको शल्यक्रिया गराइन् । उनले भनिन्,, “शिविरमा शल्यक्रिया गराएपछि छ्याङ्ग देख्न थालेको छु ।”

शिविरमा भोजपुरसहित जिल्ला बाहिरका नागरिकले पनि सेवा लिएका जिल्लास्थित नेपाल नेत्रज्योति सङ्घका कोषाध्यक्ष सम्झना प्रधानले बताइन् । उन्का अनुसार शिविरमा ९० वर्षसम्मका वृद्धवृद्धाले सेवा लिएकी हुन् । 

उपचारका लागि अन्यत्र जान आर्थिक तथा पारिवारिक समस्या हुने भएकाले जिल्लामा सञ्चालन भएको शिविर प्रभावकारी बनेको आयोजक नेपाल नेत्रज्योति सङ्घ आँखा तथा कान उपचार केन्द्र भोजपुरका प्रमुख विजय तामाङले बताए । उनले भने, “रू ५० तिरेर वर्षौँदेखि आँखा नदेख्ने समस्या भएका बिरामीलाई शिविरले सुविधा दिएको छ ।”

तामाङका अनुसार विराटनगर आँखा अस्पताल रानी र केन्द्रको आयोजना तथा सिबिएम संस्थाको सहयोगमा सञ्चालित शिविरमा एक सय ३२ जनाको आँखाको शल्यक्रिया गरिएको छ भने पाँच सय २१ जनाको परीक्षण गरिएको छ । 

आर्थिक अवस्था कमजोर भएका, जेष्ठ व्यक्ति तथा अन्य विविध कारणले वर्षौँदेखि आँखाको समस्या झेल्न बाध्य नागरिकलाई आफ्नै पालिकामा सञ्चालित शिविरले लाभ पु¥याएको सङ्घका संस्थापक सदस्य धर्मराज राईले बताए ।  “शिविरमार्फत हाम्रा वृद्ध आमाबुबालाई पुनःस्पष्ट देख्ने हुनुभएको छ । उहाँहरुसँगै हामी पनि खुसी छौँ”, उनले भने ।

विपन्न र दुर्गम भेगका अशक्त नागरिकलाई लक्षित गरी भोजपुरमा निःशुल्क आँखाको शल्यक्रिया गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको नेत्ररोग विशेषज्ञ डा सगुन मल्लले जानकारी दिए । “आर्थिक अवस्था कमजोर भएका र अशक्त नागरिकका लागि सहज उपचार सेवा दिन हामीले शिविर सञ्चालन गरेका हौँ”, उनले भने, “वर्षौँदेखि आँखाको समस्या लिएर आउने बिरामीलाई हाम्रो टोलीले सफल उपचार गरेको छ ।” शिविरमा मल्लसहित नौ जना चिकित्सकको सहभागिता थियो । –रासस

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १९:२०
प्रतिक्रिया दिनुहोस्