शिक्षक–कर्मचारी र प्रहरीबीच झडप

अपडेट : सिम्रौनगढमा गोली प्रहारबाट घाइतेको मृत्यु

बुधबार, मंसिर २७, २०८०

बारा- बाराको सिम्रौनगढ नगरपालिकामा आन्दोलनरत शिक्षक–कर्मचारी र प्रहरीबीच झडपका क्रममा एक जनाको मृत्यु भएको छ ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा टाउकोमा गोली लागेका सिम्रौनगढ-१ ननसगराढाँटका २५ वर्षीय लक्ष्मी मुखिया बिनको मृत्यु भएको बारा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । उनका अनुसार बिनको नारायणी अस्पतालमा मृत्यु भएको हो ।

बुधबार नगरपालिका कार्यालय पुगेका मेयर किशोरी साह कलवार र प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई आन्दोलनरत कर्मचारी र शिक्षकले आक्रमणको प्रयास गरेका थिए । उनीहरूले मेयरको गाडीमा तोडफोड गरे । त्यहीबेला प्रहरी र आन्दोलनरत कर्मचारी र शिक्षकहरूबीच धकेलाधकेल भएको थियो, प्रहरीले लाठीचार्ज गरेर स्थिति नियन्त्रणमा लिएको थियो । तर पछि आन्दोलनकारीहरूले थप दबाब बढाएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन टियर ग्यास र हवाई फायर गरेको एसपी सुरेन्द्रप्रसाद काफ्लेले जानकारी दिए ।

‘प्रहरीले २०–२५ राउन्ड टियर ग्यास र हवाई फायर गर्‍यो । अहिले स्थिति नियन्त्रणमा छ,’ एसपी काफ्लेले भने । आन्दोलनकारीको ढुंगा प्रहारबाट १० प्रहरी घाइते भएका छन् ।

आन्दोलनका कारण दुई महिनायता नगरपालिकाबाट नियमित सेवा प्रवाह हुन सकेको छैन । मेयर साहसमेत नियमित नगरपालिका जाने गरेका थिएनन् । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतसमेत थिएनन् ।

बुधबार मेयर साहले एक साताअघि मात्रै पचरौता नगरपालिकाबाट सरूवा लिएका प्रमुख प्रशासकीय अधिकृत मिश्रलाई हाजिर गराउन नगरपालिका पुगेका थिए । मेयर साह लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित हुन् । तर नगरसभामा नेपाली कांग्रेसको बहुमत छ । यसअघि मेयर साहले नगरसभा सम्पन्न भएको भनेर सार्वजनिक गरे पनि कांग्रेसका जनप्रतिनिधिहरूले भने नगरसभा नभएको भन्दै विरोध जनाउँदा विवाद उत्पन्न भएको हो ।

जनप्रतिनिधिको विवादले नगरपालिकाको काम कारबाही प्रभावित हुँदा कर्मचारी र शिक्षकहरू पनि आन्दोलित बनेका छन् ।

 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १७:२९
प्रतिक्रिया दिनुहोस्