वीर अस्पतालको ओपिडी सेवा बन्द हुने अवस्थामा

बुधबार, मंसिर २७, २०८०

काठमाडाैैं - वीर अस्पतालमा बिरामी दर्ता टिकट र भर्ना कागजको अभाव भएको छ। अस्पताल प्रशासनले पूर्वतयारी नगर्दा अत्यावश्यक पर्ने टिकट र भर्ना कागज सकिन लागेको हो। अस्पतालको मौज्दातमा अब जम्मा चार हजार टिकट छ भने पाँच सयको हाराहारी भर्ना कागज ।

यसले दुई दिनलाई मात्रै पुग्छ । टिकट र भर्ना कागज सकिँदा शुक्रबारदेखि सेवा प्रभावित हुने अवस्था छ । बुधबार र बिहीबारलाई मात्रै पुग्ने टिकट स्टक रहेको अस्पतालले जनाएको छ । टिकट र भर्ना कागज सकिन लाग्दासमेत प्रशासनले खरिद प्रक्रिया अघि बढाएको छैन ।

टेन्डर आह्वानपछि पनि खरिदका लागि करिब १० दिन लाग्छ । पूर्वतयारी नगर्दा टिकट अभावका कारण ओपिडी सेवासमेत बन्द हुने अवस्था छ । टिकट नभए सेवा बन्द गर्नुको विकल्न नहुने अस्पतालका एक कर्मचारीले बताए । ‘वीरमा टिकट र भर्ना कागज मुस्किलले एक–दुई दिनलाई पुग्छ होला,’ ती कर्मचारीले भने, ‘सकिएपछि सेवा बन्द गर्नुपर्छ, किनभने बिरामीको विवरण त्यही टिकटमा लेखिन्छ, टिकटविना बिरामी जाँच्न समस्या हुन्छ ।’

ओपिडी, विशेष र आकस्मिक गरी अस्पतालले तीन प्रकारको टिकट वितरण गर्दै आइरहेको छ । तीनै प्रकारको टिकट सकिन लागेको छ । अस्पताल प्रशासनसँग मुस्किलले चार हजार प्रति टिकट स्टक छ । उक्त टिकट एक–दुई दिनमै सकिन्छ । वीरमा दैनिक दुई हजारवटा ( तीनै प्रकारका) सम्म टिकट बिक्री हुन्छ ।

वीरले ओपिडी र इमर्जेन्सी टिकटको ३० रुपैयाँ र विशेषको एक सय रुपैयाँ शुल्क लिन्छ । टेन्डर गर्दा सप्लायर्स कम्पनीले प्रतिटिकट चार रुपैयाँ मात्रै लिन्छ । अस्पतालले चार रुपैयाँमा खरिद गरेको टिकट बिमा गरेका बिरामीले दुई सय रुपैयाँ तिर्नुपर्छ । 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  ०७:११
प्रतिक्रिया दिनुहोस्