संकल्प यात्रामा अवरोध नगर्न पहिचानवादीलाई एमालेले आग्रह

मंगलबार, मंसिर २६, २०८०

काठमाडाैं - नेकपा (एमाले)ले झुलाघाट– चिवाभञ्ज्याङ जारी संकल्प यात्रामा अवरोध नपुर्याउन पहिचानवादीलाई आग्रह गरेको छ। आजदेखि एमालेको संकल्प यात्रा कोशी प्रदेश प्रवेश गर्दैछ।

घुर्मी हुँदै कोशी प्रदेश प्रवेश गर्न लागेको एमालेको अभियानमा विभिन्न पहिचानवादी समूहले अवरोध पुर्‍याउने प्रयास गरेको सूचना पाएको भन्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले त्यस्ता गतिविध नगर्न आग्रह गरेका हुन्।

‘एमालेको संकल्प यात्रा घुर्मी भएर कोशी प्रदेश प्रवेश गर्दैछ। यसक्रममा केही समूहहरू द्वारा हाम्रो अभियानलाई अवरोध गर्ने गरी सडक बन्द, प्रदेश बन्द लगायतका बन्द र अवरोधका कार्यक्रमहरू सार्वजनिक गर्ने भन्ने सुनिन आएको छ। त्यसका निम्ति पार्टीका तर्फबाट औपचारिकरूपमा सबै समूहहरू, पहिचानवादी समूहलगायतका सबैलाई अभियानलाई अवरोध नगर्न बन्द नगर्न, अभियानमा सहयोग पुर्‍याउनका निम्ति अपिल गर्न चाहन्छु,’ उनले भनेका छन्।

नागरिकको विकास–समृद्धिप्रतिको चाहना-अपेक्षालाई सम्बोधन गरेर अघि बढ्नुपर्ने सन्दर्भमा राजनीतिक दलको अभियानमा बाधा नपुर्‍याउन पनि उनले आग्रह गरेका छन्।

‘छेक्ने, ढुंगामुढा गर्ने, अवरोध सिजर्ना गर्ने, बन्द गर्नेजस्ता असंवैधानिक गतिविधि नगर्न, आफ्ना कुनै असमहति भए औपचारिकरूपमा शान्तिपूर्ण ढंगले राख्ने आफ्ना ठाउँहरू छन्,  त्यो ठाउँमा अहसमति राख्न अनुरोध गर्दछौं,’ उनले भनेका छन्। प्रदेश नामकरणको विषय कोशी प्रदेश सभाको भएको बताउँदै एमाले एक्लैले नगरेको उनको प्रष्टीकरण छ।

 

   

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १०:५७
प्रतिक्रिया दिनुहोस्