सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ २९ मंसिरमा

आइतबार, मंसिर २४, २०८०

काठमाडौं- सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ २९ मंसिरमा हुने भएको छ। संसदीय सुनुवाइ समितिमा प्रस्तावित न्यायाधीशहरूविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग छलफल सकिएको छ।

न्यायपरिषद्ले उच्च अदालतका चार न्यायाधीश र वरिष्ठ अधिवक्ता दुई जनालाई सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्ताव गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष पठाएको थियो । प्रस्तावित न्यायाधीशमा उच्च अदालत जनकपुरका न्यायाधीश शारङ्गा सुवेदी, उच्च अदालत पाटन हेटौँडा इजलासका न्यायाधीश अब्दुल अजीज मुसलमान, उच्च अदालत पाटनका न्यायाधीशद्वय महेश शर्मा र टेकप्रसाद ढुङ्गाना छन् ।

परिषद्ले वरिष्ठ अधिवक्ताद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्च अदालतको प्रस्तावित न्यायाधीशमा सिफारिस गरेको हो । उनीमध्ये न्यायाधीश सुवेदीका नाममा छ, ढुङ्गानाका तीन र मुसलमानका नाममा एउटा उजुरी परेको थियो ।

न्यायाधीशका लागि शैशिक योग्यता, वरिष्ठ अधिवक्ता एवं अधिववक्ता हैसियतमा कम्तीमा १५ वर्ष निरन्तरुपमा वकालत, वरिष्ठता, अनुभव र विषयवस्तुको ज्ञान, कार्यकुशलता, इमान्दारिता, निष्पक्षता र नैतिक आचार, कानुन व्यवसायमा आर्जन गरेको ख्यातिका आधारमा परिषद्ले उनीहरुलाई छनोट गरेको हो ।

उजुरीकर्तामध्ये गुरागाईंले न्यायालयमासमेत पहुँचवालाको मात्रै बोलावाला रहेको तथा न्याय र कानुनविपरीत त्रुटिपूर्ण फैसला सच्याउनका लागि न्यायालयमै कार्यरत कर्मचारीले जोखिमको सामना गर्नुपरेको बताए। अर्का उजुरीकर्ता पौडेलले न्यायमूर्तिका क्रियाकलाप र कानुनविपरीतका फैसलाले न्यायालयप्रति जनताको आशा र भरोसा दिन प्रतिदिन खस्कँदै गएको प्रतिक्रिया दिए ।

न्यायपरिषद्ले ५ मंसिरमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १६:३३
प्रतिक्रिया दिनुहोस्