टिकटक बन्द गरेकाे विषयमा जनताले स्वागत गरेका छन् : गृहमन्त्री

शनिबार, मंसिर १६, २०८०

चितवन - गृहमन्त्री नारायणकाजी श्रेष्ठले व्यवस्थाको विरोधमा आएका आवाजले कुनै असर नपार्ने बताएका छन्। चितवनको भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले भने ‘गणतन्त्रमा विरोध गर्न पाइन्छ तर अहिले आएको विरोधले व्यवस्थामा चुनौती आउँदैन भन्ने हामीले लिएका छौ । गणतन्त्रलाई नै असर गर्ने गरी विरोध भएमा हामीले त्यही समयमा निर्णय लिने छौ ।’

टिकटक बन्द गरेका विषयमा जनताले स्वागत गरेको पाइएको भन्दै गृहमन्त्रीले श्रेष्ठले अन्य सामाजिक सञ्जाल बन्द नगर्ने तर नियमन गर्दै लैजाने बताए। हामी समाजलाई व्यवस्थित पार्दै लैजाने छौ अराजकतालाई भने नियन्त्रण हुनेछ। सङ्घीयता खारेजीका विषयमा आवाज उठेको छ भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘सङ्घीयता ल्याउन हुँदैन भन्ने पहिला पनि थियो अहिले पनि छ । यसलाई हामीले ठुलो रूपमा लिएका छैनौ । जनताको आवश्यकता र चाहनालाई भने सम्बोधन गर्नु पर्दछ भन्नेमा हामी जिम्मेवार छौ ।’

जनताको आवश्यकतालाई मध्यनजर गरेर काम गर्न सरकार प्रतिबद्ध रहेको पनि उनले बताए। ‘राजा आउँ देश बचाउ भनेर नारा लगाउनेलाई नै राजा आउँछन् भन्ने विश्वास छैन त्यसैले अव देशमा राजा आउँछन् भन्ने सोच्नु दिवा स्वप्न हो । इतिहास फर्केर आउँदैन अगाडि बढेको व्यवस्था अगाडि जान्छ,’ उनले भने।

 

  

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  ११:३६
प्रतिक्रिया दिनुहोस्