युद्धको चोट पाएकी एक उदाहरणीय आमाको उत्तरार्धको खुसी

माओवादीले प्रहरी पतिको हत्या गरेको दु:ख सहेकी अम्बिकाले नयाँ बाटो रोजिन्

शनिबार, मंसिर २, २०८०

काठमाडौं– माओवादी जनयुद्धका क्रममा आफ्ना प्रहरी पतिको हत्या भएपछि निक्कै सकसपूर्ण जीवनको गोरेटोबाट गुज्रिएकी थिइन्, अम्बिका पोखरेल ।

किशोरवय १६ बर्षको उमेरमा उनको विवाह भएको थियो तर २० बर्षको पुग्दा नपुग्दै विधवा बन्नु परेको पीडा एकातिर थियो, अर्कातिर दुई छोरीलाई हुर्काएर भविष्य दिनुपर्ने कर्तव्यवोध।

उक्त उमेरमा त अम्बिकाले आफ्नै आकांक्षा र सपनालाई तिलाञ्जली दिन परेको होला, त्यसको हेक्का राख्न नि मुस्किल हुन्छ । युद्धको समय, विधवाको जीवन, असाक्षर समाजभित्र बेदनाका कति पोकाहरू फुकाउन पनि मुस्किल थियो उनलाई, कल्पनाबाहिरको विषय हुन्छ।

जीवनको एउटा पीडादायी पाटो, संघर्षको मैदान, आमाको कर्तव्य पूरा गरेपछि उत्तरार्धको जीवनलाई खुसीको तरेलीमा राख्ने निधोमा पुगेकी उनको अहिलेको निर्णयको कथा, सामाजिक सञ्जालमा व्यापक छ । अम्बिकाले ‘आजबाट यो जिन्दगी नयाँ बाटोमा हिँड्यो’ भन्ने शीर्ष दिएर सामाजिक सञ्जालमा आफ्ना जीवनका केही परिघटनासहितको निधोलाई छोटो शव्दमा व्याख्या गरेकी छन् ।

ambika-pokharel-1-1700282531.jpg

अम्बिका लेख्छिन्,‘ मैले दोस्रो विवाह गरेँ। जिन्दगी सोचेजस्तो नहुने रहेछ । १६ बर्सको उमेरमा मैले पहिलो विवाह गरेकी थिएँ। २० बर्ष पूरा हुँदै गर्दा म विधवा भएँ। नेपाल प्रहरीमा कार्यारत ओम जीलाई देशको द्वन्द्वले लग्यो। यसरी प्रेम बियोगमा मैले २५ बर्ष गुजारेँ।’

व्यवस्था परिवर्तनका नाममा जीवनको ‘खाउँ खाउँ लाउँ लाउँ’ भन्ने उमेरमा जिम्मेवारीको बोध हुनुपर्ने र पीडाको पहाडमा गुज्रिनुपर्ने अम्बिकाले अगाडि भनेकी छन्,‘यो दौरानमा आर्थिक, सामाजिक, राजनितिक उतारचढावहरू मेरो जीवनमा आए। व्यवस्था परिवर्तनको नाममा मच्चिएको उत्पातले म जस्ता कैयौं दिदीबहिनीहरूले वियोगमा जिन्दगी जिउनु परेको सत्यताहरू हाम्रो आँखा अगाडि छन् ।

सन्तानको शिक्षा उनको प्राथमिकतामा थियो । विधवा नै सही सन्तानलाई उचित शिक्षा र दिक्षा नभएसम्म उनी दोस्रो विवाहको निधोमा पुग्ने विचारमा थिइनन् । अगाडि लेख्छिन्,‘सन्तानको लागि  मैले जानी नजानी, सकि नसकी आफ्नो कर्तव्य पूरा गर्न लागि परेँ र उचित शिक्षा दिएर कुटुम्बको जिम्मा लगाएँ। त्यसपछि म विल्कुल एक्लो भएँ अबको यो उमेरमा झन् कसैको साथको आवश्यकता खड्किन थाल्यो।’

ambika-pokharel-1700282549.jpg

उत्तारर्धको यात्रा एक्लै हिँड्न कठिन हुन्छ भन्ने हेक्का राखेकी अम्बिका अगाडि जोड्छिन्,‘मनले साथीको आवश्यकता महसुस गरेकै बेला परिवारिक ‘थ्रोबाट’ ज्ञवाली जीको कुरामसम्म आयो । मैले जवाफ दिन सकिन र निर्णय गर्ने पूरा अधिकार छोरी ज्वाइँलाई दिएँ। मेरो पहिलो घर, माइती, मावली र इष्टमित्र समक्ष यो कुरा राखेर सबैको सर्वसहमतिमा र उपस्थितिमा बुटवल, मंगलापूर निवासी  पत्नी वियोगको पीडा खेपिरहनु भएका तीन छोरीका पिता ज्ञवालीजिलाई अबको बाँकी जिन्दगी सुम्पने निर्णय गरेँ।’

परिवारको सल्लाहमा नै उनले तय गरेको अगाडिको यात्रासँगै धारणा राख्छिन्,‘अब हामी चार वटी छोरीको माता पिता भएका छौं। हिजो पनि म मेरो कर्तव्यबाट विमुख भइन अब भोली पनि कर्तव्यवोध गर्ने नै छु । अब हाम्रो चाहना हामी दुबैले गुमाएका हाम्रा आफ्ना मान्छे (ओमजी र कृष्णा दिदी)को स्मरण गर्दै चार सन्तानको कुशल माता पिता बनेर हाँसी खुशी बाँकीको जिन्दगी बिताउनु हो ।’

समाज परिवर्तनको नारा फुकेर मात्र समाज परिवर्तन हुँदैन सुरुवात हामी आफैले गर्नुपर्ने उनको निधो छ।

समाजमा कतिपय व्यक्तिले एउटा दृष्टिकोण बनाउन सक्छन्। तर, भित्री कथाले त्यो दृष्टिदोष पनि हुन सक्छ भन्ने हेक्का सबैले राख्न सक्नुपर्छ भन्ने उदाहरण हुन् अम्बिका । 

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  १०:२८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार