भूकम्पबाट ४० हजार विद्यार्थी प्रभावित

सोमबार, कात्तिक २७, २०८०

काठमाडाैं - कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पका कारण ३० प्रतिशत विद्यार्थी प्रभावित भएको कर्णाली प्रदेश सरकारले जनाएको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार प्रभावित विद्यालयमा अध्ययनरत कूल विद्यार्थीमध्ये ३० प्रतिशत भूकम्पबाट प्रभावित भएका हुन् ।

भूकम्पबाट क्षति भएका जाजरकोट र रुकुमपश्चिमका विभिन्न विद्यालयमा अध्ययनरत एक लाख ३३ हजार छ सय ८७ जनामध्ये ४० हजार एक सय १० विद्यार्थी भूकम्पबाट प्रभावित भएको सामाजिक विकास मन्त्रालय शिक्षा अधिकृत बलबीर सुनारले बताए ।

जाजरकोटमा ७५ हजार आठ सय ५३ विद्यार्थीमध्ये २२ हजार सात सय ५९ र रुकुमपश्चिममा ५७ हजार आठ सय ३४ विद्यार्थीमध्ये १७ हजार तीन सय ५१ जना भूकम्पबाट प्रभावित भएको सुनारले जानकारी दिए। जाजरकोटमा चार सय २३ र रुकुम पश्चिममा तीन सय १३ गरी सात सय ३६ विद्यालयमध्ये दुई सय आठ वटा विद्यालय पूर्ण रूपमा क्षति भएका छन् भने चार सय १८ विद्यालय आंशिक रूपमा क्षति भएको जनाइएको छ ।

जाजरकोटका धेरै विद्यालयमा क्षति भएको छ । जाजरकोटमा मात्रै एक सय ७३ पूर्ण रूपमा र चार सय आठ विद्यालय आंशिक रूपमा क्षति भएका छन् । त्यसैगरी रुकुमपश्चिममा ३५ पूर्ण र १० विद्यालय आंशिक रूपमा क्षति भएका छन्।

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  ०७:१३
प्रतिक्रिया दिनुहोस्