जाजरकोट भूकम्पबाट साढे २६ हजार घर पूर्णरूपमा क्षतिग्रस्त

शुक्रबार, कात्तिक २४, २०८०

काठमाडौं- गत शुक्रबार राति गएको जाजरकोट भूकम्पबाट २६ हजार ५५७ घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ । साथै, गृह मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले ३५ हजार ४५५ घरमा आंशिक क्षति पुगेको जनाएको छ ।

शाखाका अनुसार शुक्रबार बिहान १० बजेसम्म जाजरकोटमा भूकम्पबाट १ सय १ जनाको मृत्यु, १४५ घाइते र ९ हजार ७९४ घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने २४ हजार ७०७ घरहरूमा आंशिक क्षति पुगेको छ ।

यस्तै, रूकुम पश्चिममा भूकम्पबाट ५२ जनाको मृत्यु, दुई घाइते र १६ हजार ५७० घर पूर्णरूपमा क्षतिग्रस्त भएको शाखाले जनाएको छ । यस्तै, रुकुम पश्चिममा ९ हजार ९६१ घरमा आंशिक क्षति पुगेको छ । रूकुम पूर्वमा ९ घर पूर्ण क्षति भएको छ । १४८ घरमा आंशिक क्षति भएको शाखाले जनाएको छ ।

यस्तै, रूकुम पश्चिममा भूकम्पबाट १६ वटा सरकारी कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने २१ वटा कार्यालयमा सामान्य क्षति पुगेको छ । भूकम्पपछिको उद्धार, खोज र राहतमा जारकोट जिल्लामा २६२ जना सशस्त्र, ५११ जना नेपाली प्रहरी र ५०२ जना नेपाली सेनाको जनशक्ति खटिएको शाखाले जानकारी दिएको छ ।

यस्तै, रूकुम पश्चिममा ११३ जना सशस्त्र, ३०० जना नेपाल प्रहरी र ४१३ जना सेना खटिएको शाखाले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १५:३१
प्रतिक्रिया दिनुहोस्