जब्बर माओवादी नेता बर्तौलामाथि कसले हान्यो रड? उनका लडाकु स्वभावका पुराना किस्सा चर्चामय छन्

बिहीबार, कात्तिक २३, २०८०

काठमाडौंनेकपा माओवादी केन्द्रको अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष समेत रहेका जब्बर र लडाकु स्वभावका नेता जनक बर्तौलामाथि आक्रमण भएको छ।

अज्ञात व्यक्तिले उनलाई नयाँ वानेश्वरको ब्यस्ता आईप्लेक्स मल अगाडि आक्रमण गरेका हुन्। बर्तौलाको भेटघाट हुने हुकुम रेस्टुरेन्ट सोही स्थानमा रहेको छ।

आक्रमणको तरिका हेर्दा योजनाबद्ध रहेको अनुमान गरिएको छ। नर्भिक अस्पतालमा उपचार गराईरहेका बर्तौलामाथि आक्रमण गर्नेलाई जिल्ला प्रहरी परिसरको टोली र उपत्यका अपराध अनुसन्धानको टोलीले खोजी थालेको छ।

स्वास्थ्य जटिल नरहेको परिसर प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) कुमुध ढुंगेलले क्यानडा नेपाललाई जानकारी दिए।

बर्तौलाका पुराना किस्सा निक्कै रोचक र चर्चामय छन्। जतिबेला माओवादीको नेतृत्व पंक्तिका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि थिए, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मतभेद हुँदा बर्तौलाले पार्टी मुख्यालय पेरिसडाँडामा नै धम्क्याएको चर्चा हुन्छ।

पछिल्ला दिनमा नेकपा एमालेको राष्ट्रिय युवा संघका नेता तथा त्यसका इन्चार्ज महेश बस्नेतसँग पनि उनको मिडिया वार चलिरहेको थियो। अन्तरवार्ताहरूमा उनी आक्रामक देखिन्थे।  

बर्तौलाका अन्य किस्सा पनि छन्। शान्ति प्रक्रियामा आइसकेपछि पनि बर्तौला विभिन्न चरणमा चर्चामा आउने गरेका थिए।

प्रचण्डले माओवादी उपत्यका बिशेष र सम्पर्क समन्वय प्रदेश कमिटीका नेताहरुलाई प्रज्ञा प्रतिष्ठानमा प्रशिक्षण दिने कार्यक्रम थियो । तर प्रशिक्षणमा हिँडेका एक जना इञ्चार्ज बाटोबाटै पाँच घण्टा प्रहरी चौकीमा थुनिए, उनी बर्तौला नै थिए।

नयाँ बानेश्वरबाट पठाओको मोटरसाइकल चढेर अनामनगर हुँदै गएका बर्तौला पुतलीसडकको पद्मोदय मोडमा पुगेपछि रोकिए। सबैभन्दा अगाडि नेपाली सेनाको स्वयम्भूस्थित रेञ्जर गणका मिलन श्रेष्ठले चलाएको मोटरसाइकल थियो। बीचमा अर्को मोटरसाइकल र त्यसपछाडि बर्तौला चढेको मोटरसाइकल गुडिरहेको थियो।

सैनिक श्रेष्ठले मोटरसाइकलमा अपर्झट ब्रेक लगाउँदा तीन वटै मोटरसाइकल ठोक्किए। सैनिक श्रेष्ठले पछाडिका मोटरसाइकल चालकहरुसँग निहुँ खोजे। यात्रु बर्तौलाले वास्तविकता बताउँदै गर्दा सैनिकले थप निहुँ खोजे। त्यसपछि प्रहरी र ट्राफिकले तीन वटै मोटरसाइकल र चालकलाई नजिकैको सिंहदरबार वृत्तमा लग्यो। बर्तौला त्यहाँ पनि जंगिएका थिए।

बर्तौला त्यहाँबाट एकेडेमीतिर हान्निए। उनी राष्ट्रिय खेलकुद परिषद्का सदस्य हुन्। प्रचण्डको भाषण सुन्न एकेडेमी पुगेका उनलाई पठाओका चालकले फोन गरेर सिंहदरबार वृत्तमा बोलाए। चालकले बर्तौलासँग सहयोग माग्न बोलाएका थिए। केही बेरअघि पठाओ मगाउँदा बर्तौलाको नम्बर चालकले थाहा पाएकाले उनले फोन गरेका हुन्।

मैले कुराकानीको क्रममा पुतलीसडक मोडमा भनाभन भएको बताएँ । तर सैनिकको कुरो सुनेर प्रहरीले मलाई चुप लाग्न भन्यो, बर्तौलाले भनेका थिए।

सिंहदरबारमा सैनिक श्रेष्ठसहितले उनीमाथि हातपात गरेको भन्ने विवरण सुनाएका थिए। जहाँ पनि हठ्ठी र नेतृत्वदायी भूमिकामा देखिने बर्तौलाको बानी छ।

मोटरसाइकल ठोक्किएको विषयलाई सैनिक श्रेष्ठले हातपात गरेको भन्ने गलत कुरो प्रहरीलाई रिपोर्टिङ गरेपछि घटनाले अर्कै मोड लिएको थियो।

बर्तौलाले ठूलो कुरा गर्ने,औंला ठड्याएर कड्किँदै सक्ने भए थुन भन्न थालेपछि आफूहरुले केही बेर नियन्त्रणमा लिएको प्रहरीको दाबी गरेको थियो।

बर्तौलाले पछिल्लो समय प्रचण्डपत्नी सीता दाहालको निधनका बेरा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीको अभिव्यक्तिमा पनि उनले कडा प्रतिवाद गरेका थिए। बर्तौलालाई प्रधानमन्त्री प्रचण्डको साथ रहेको छ। उनी नेतृत्वका नजिक रहेका कारण पनि सार्वजनिक पदमा पुग्ने गरेका छन्।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  ११:४४
प्रतिक्रिया दिनुहोस्