जाजरकोट भूकम्प

१९ वर्षीया जमुना, जसले भूकम्पका कारण श्रीमान् र गर्भको शिशु गुमाइन्

मंगलबार, कात्तिक २१, २०८०

बाँके- जमुना बुढामगर भर्खर १९ वर्षको भइन् । केही दिनअघि गएको भूकम्पका कारण उनले श्रीमान् र पेटमा हुर्कँदै गरेको आठमहिने शिशुलाई गुमाइन् । श्रीमान् र शिशुको वियोगमा जमुना एकसुरमा अस्पतालको भित्ता कोट्याइरहन्छिन् । भूकम्पबाट घाइते उनी हाल नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत छिन् ।

जाजरकोटको नलगाढ नगरपालिका–६ भारगाउँकी जमुनाको गत शुक्रबार राति गएको भूकम्पले संसार नै अँध्यारो बनाइदिएको छ । भूकम्पपीडितको व्यथा एउटै एउटै जस्तो देखिन्छ । तर जमुनालाई भने आफ्नो व्यथा अरुको भन्दा धेरै गहिरो लागेको छ । उनले आफ्नो जीवनसाथी र गर्भमा हुर्किँदै गरेको शिशुलाई गुमाएको चार दिन बितेको छ । बितेका चार दिनमा जमुनाको होस पूर्णरूपले फर्किएको छैन । श्रीमान् र गर्भमा रहेको शिशुलाई गुमाउँदाको पीडाले उनी अस्पतालको शैययामा छटपटाईरहेकी छिन् । 

जमुना एकसुरमा कहिले राम्रैसित बोल्छिन् त कहिले बोल्दैबोल्दिनन् ।

बोलिहालेपनि एकदमै कम मात्र बोल्छिन् । उनको पेटको बच्चा गुमेपनि उनी बेलाबेला पेट मुसार्दै गर्भमा रहेको बच्चाको खोजी गर्छिन् ।

जमुनाको यो अवस्था देखेर रेखदेख गर्न आएकी आमा पवित्रा छोरीले थाहा नपाउने गरी बेलाबेलामा पछ्यौराले मुख छोपेर भक्कानिन्छिन् ।

“छोरीलाई पेटको बच्चा नरहेको कुरा हामीले उ होसमा आएपछि सुनायौँ । उसलाई थाहा छ । तर पनि उसले आमा मेरो नानीलाई त ठिकै छ नि भन्दै सोधिरहन्छे”, आमा पवित्राले भनिन्, “एक्लै–एक्लै आफैंसँग कुरा गर्छे । कहिले राम्रै बोल्छे, कहिले बोल्दै बोल्दिन ।” भूकम्पको पीडाले बेहोसी छोरीको होस फर्किए पनि सुरमा कुरा नगरेको देख्दा उनलाई छोरीको चिन्ताले सताइरहेको छ ।

शुक्रबार राति नै भूकम्पमा परी ज्वाइँ नवीन बुढाको घरले च्यापिएर मृत्यु भएको खबर सुनेपछि गर्भवती छोरीलाई उद्धार गर्न सानीभेरी गाउँपालिका–९ रुकुम पश्चिमबाट जमुनाकी आमा पवित्रा खड्का मगर र बुवा भागिराम जाजरकोट पुगेका थिए । घरमा पुग्दा जमुना बेहोस अवस्थामा रहेको बुवा भागिरामले बताए ।

“हामीले त ज्वाइँसँगै छोरी पनि गुमायौँ भन्ने सोचेका थियौँ । उसको पेटको नानीलाई बचाउन नसकिए पनि छोरीलाई भने केही भएको रहेनछ”, भेरी अस्पतालमा जमुनाको हेरचाहमा खटिएकी उनले भने ।

जमुनालाई जाजरकोटबाट नेपाली सेनाको हेलिकोप्टरबाट चौरजहारीसम्म ल्याएको र त्यहाँबाट नेपालगन्जसम्म जहाजमा ल्याएर आइतबार भेरी अस्पतालमा भर्ना गरिएको थियो । पेटभित्र मरेको शिशुलाई निकालिएको छ । शिशुको अन्तिम संस्कार नेपालगन्जस्थित मसानघाटमा नै गरिएको बुवा भागिरामले बताए ।

जमुनाको उद्धार गर्न जाजरकोट पुगेका भागीराम र उनकी पत्नीलाई आफ्नै घर भूकम्पले चर्किको खबर भारगाउँ पुगेपछि मात्र थाहा भयो । “हामीले त ज्वाइँ रहनुभएन भन्ने सुन्यौँ । गर्भवती छोरीको सास छ भन्ने थाहा पाउनासाथ हामी छोरी बचाउन जाजरकोट लाग्यौँ । त्यहाँ पुग्दै गर्दा बाटैमा थाहा पायौँ भूकम्पले हाम्रो पनि घर चर्किएछ ।” दुवैजना शुक्रबार राति नै जमुनाको घर गएका थिए ।

अस्पतालमा छोरीलाई निको बनाएर घर लैजान भनी हेरचाह गर्न श्रीमानसँगै आएकी आमा पवित्रा भन्छिन्, “जसको भाग्यमा जे भोग्न लेखिएको हुन्छ उसले त्यही भोग्नैपर्छ । हाम्रो छोरीको भाग्यमा यस्तै दुःख भोग्न लेखिएको थियो होला । अब छोरी चाँडै निको भइदिए हुन्थ्यो ।”

आमा पवित्राको भनाइअनुसार जमुनाको अरु सबै स्वास्थ्य अवस्था ठीक भए पनि कहिलेकाहीँ पेट र टाउको दुखिरहन्छ । भूकम्प जाँदा जमुनासँगै श्रीमान्, सासू, नन्द र दुई आमाजुसँगै एउटै घरमा खाना खाएर सुतेका थिए । भूकम्पले जमुनाका श्रीमान् र गर्भको शिशुलाई लगे पनि बाँकी अरु परिवारका सदस्यलाई भने सामान्य चोट लागेको छ । जमुनाका देवर र ससुरा भने मजदुरी गर्न भारत गएका छन् ।

भेरी अस्पतालमा जाजरकोट भूकम्पका कारण घाइते ४४ जनाको उपचार भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । उनका अनुसार भेरी अस्पतालमा भूकम्पमा परी घाइते भएका ४७ जनालाई ल्याइएको थियो । दुई जना निको भई घर फर्किएका छन् भने एक जनाको उपचार गर्न अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियो । प्रजिअ पोखरेलले उपचाररत बिरामीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  ११:१९
प्रतिक्रिया दिनुहोस्