काठमाडौंका मेयर बालेन भूकम्प पीडितबारे किन चुइँ पनि गरेनन्?

सोमबार, कात्तिक २०, २०८०

काठमाडौं– देशका विभिन्न महानगरपालिकाले भूकम्पले थलिएको जाजरकोट र रुकुमपश्चिमलगायतका पीडितको राहतका लागि रकम सहयोग गरे पनि काठमाडौं महानगरपालिकाले भने हालसम्म घोषणा गरेको छैन।

पत्नीलाई अस्पताल जाने क्रममा ट्राफिक प्रहरीले दुई मिनेट रोक्दा सिंहदरबार नै जलाउने चेतावनी दिएका महानगर प्रमुख बालेन्द्र (बालेन) साह जाजरकोटको पीडामा भने चुईँसम्म गरेका छैनन्।

राहत सहयोगको घोषणा त परै जाओस् उनले भूकम्पमा मारिएका परिवारलाई श्रद्धाञ्जली र पीडितलाई समवेदना पनि दिएका छैनन्।

बरु, नेपाली कांग्रेसलगायतका विभिन्न पार्टीले सहयोगको घोषणा गरी विभिन्न नेताको टिम बनाएर परिचालन गरेको छ। भरतपुर महानगरपालिकाले भूकम्पपीडितका लागि १ करोड सहयोगको घोषणा गरेको छ।

त्यस्तै विभिन्न प्रदेश सरकारले पनि कर्णाली सरकारलाई सहयोगको घोषणा गरिसकेका छन्। सुरक्षा निकायका तिनवटै निकाय सक्रियताका साथ उद्धार र राहतका लागि खटिसकेका छन्।

यता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको टिम भूकम्पप्रभावित क्षेत्रमा पुगेको छ। लामिछानेले जिल्ला प्रशासन कार्यालय जाजरकोटमा करिब ३ सय परिवारलाई पुग्ने राहत हस्तान्तरण गरेको बताइसकेका छन्।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  ११:४९
प्रतिक्रिया दिनुहोस्