डोटी बोलेर दुर्घटना

शिक्षक बन्ने परिक्षा दिएर फर्किंदै थिए, सपनासँगै सेतीमा डुबे राधिका र धनशोभा

आइतबार, कात्तिक १९, २०८०

काठमाडौं– शिक्षक बन्ने सपना बुनेर निम्न माध्यमिक तहको लाइसेन्सको परिक्षा दिएका दुई जना युवतीसहित चार जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ।

बाजुराको एकै गाउँका चार जनता डोटीस्थित सेती नदिमा बोलेर खस्दा अस्ताएका हुन् । आइतबार डोटीको शिखर नगरपालिका–६ अण्यौलमा दुर्घटना भएको थियो । 

धनगढीबाट बाजुरा जाँदै गरेको ग२च २७७६ नम्बरको जिप केआई सिंह राजमार्गबाट ६० मिटर तल नदिमा खसेको प्रहरीले जनाएको छ।

बाजुराको हिमाली गाउँपालिका–५ बछ्याकी २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा र बिमला मलालकी ८ महिने छोरी प्रार्थना मलालको मृत्यु भयो।

राधिका र धनशोभा शिक्षक बन्ने सपनाको परिक्षा दिएर फर्किएका थिए। १० जना सवार रहेको बोलेरो जीपमा रहेका ५ जना घाइते भएका छन्। प्रारम्भिक अनुसन्धानअनुसार चालक निदाएका कारण जीप सेतीमा खसेको थियो।

हिमाली गाउँपालिका–५ का ३० वर्षीय प्रकाश बुढाथापा, २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा, २१ वर्षीय बिमला मलाल र २१ वर्षीय राजबहादुर मलाल घाइते छन्।

चालक बाजुराको गौमुल गाउँपालिका–४ काँडाकोटका २१ वर्षीय महेश बुढा सामान्य घाइते छन्। उनी सवारी चलाउँदा चलाउँदै निदाएका थिए। अनुसन्धानका लागि प्रहरीले चालक बुढालाई नियन्त्रणमा राखेको छ।

दुर्घटनामा परेर घटनास्थलमै ज्यान गुमाएकाहरुको पोष्टमार्टमका लागि शव दीपायल लगिएको छ। बोलेर जिप बुक गरेर  फर्किरहेका उनीहरु घर पुग्न पाएनन्।

अधिकांश शिक्षक लाइसेन्सको परीक्षा दिएर घर फर्किनेहरु सवारीमा थिए । शिखर नगरपालिका–६ पर्ने स्थानीय बजार ल्वाखडीमा जिप रोकेर चालक बुढा आधा घण्टा निदाएका थिए।

ल्वाखडी बजारबाट करिब ३ किलोमिटरको दुरी पार परेपछि राति साढे २ बजे जिप सेती नदीमा खसेको थियो। प्रहरीलाई पनि चालकले आफू निदाउँदा दुर्घटना भएको बयान दिएको स्रोतले जनायो।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १४:११
प्रतिक्रिया दिनुहोस्