आममाफी पाएका थापा ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ

बुधबार, कात्तिक १५, २०८०

भरतपुर– अपहरण गरी ज्यान मार्ने धम्की दिँदै रु २५ लाख माग गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

कात्तिक ८ गते भरतपुर महानगरपालिका–१ बस्ने सोमराज सुवेदीलाई फोन गरी अपहरणको धम्की दिने ५५ वर्षको रामचन्द्र थापालाई प्रहरीले भरतपुरको मालपोत चोकबाट रकम माग गर्दै गरेको अवस्थामा सोमबार पक्राउ गरेको हो । उनले गत जेठ १५ गतेको गणतन्त्र दिवसमा आममाफी पाएका थिए ।

पत्रकार सम्मेलन गरेर पक्राउ परेको थापालाई सार्वजनिक गर्दै चितवन प्रहरीले बारम्बार अपरिचित मोबाइल नम्बरबाट फोन गरी उनले अपहरणको धम्की दिएको जानकारी दिएको छ । थापाले हिन्दी भाषा प्रयोग गरी सुवेदी र उनको छोरालाई गोली हानी हत्या गर्छु भन्दै सो को बदलामा रु २५ लाख माग गरेको चितवन प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक उमाशङ्करप्रसाद साहको नेतृत्वमा विशेष प्रहरी टोली परिचालित भई सोमबार साँझ अभियुक्त थापालाई पक्राउ गरिएको जनाइएको छ । 

मकवानपुर हेटौँडा उपमहानगरपालिका स्थायी ठेगाना भएका थापा भरतपुर महानगरपालिका–९ मा बस्दै आएको प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । चितवन प्रहरीका अनुसार अभियुक्त थापाविरुद्ध यसअघि चोरीसम्बन्धी कसुर, डाँका कसुर, लागुऔषधसम्बन्धी कसुरमा विभिन्न समयमा मुद्दा दर्ता भएको थियो । अभियुक्त थापा चितवन जिल्ला अदालतबाट डाँका मुद्दामा ९ वर्ष कैद तोकिएकामा गत जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा ४ वर्ष ६ महिना तीन दिन कैद भुक्तान गरी भरतपुर कारागारबाट छुटेका थिए । 

नारायणी नदी किनारमा कृषि तथा व्यापार महोत्सव गरिने 

चितवनको नारायणी नदी किनारमा चितवन रिकभरी जनचेतना, संस्कृति, पर्यटन, कृषि तथा व्यापार महोत्सव हुने भएको छ । लागुऔषध तथा मद्यपान प्रयोगकर्ताहरुको उपचार तथा पुनःस्थापनाका लागि स्थापित संस्था रिकभरिङ युनाइटेड प्रालिले यही मङ्सिर ६ गतेदेखि १६ गतेसम्म नागरिकलाई सचेतना दिन महोत्सव गर्न लागेको हो । 

कार्यक्रम संयोजक महेश श्रेष्ठले भरतपुर महानगरपालिका–१ को सिफारिस र भरतपुर महानगरपालिका र जिल्ला प्रशासन कार्यालय चितवनको स्वीकृतिमा महोत्सव गर्न लागेको जानकारी दिए । लागुऔषध तथा दुव्र्यसनीविरुद्ध जनचेतनामूलक कार्यक्रम गर्दै चितवनको मौलिक परम्परा, वेशभूषा र स्थानीय कला तथा संस्कृति संरक्षण गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको उहाँले जानकारी दिए । 

दश दिनसम्म चल्ने महोत्सव बिहान १० देखि साँझ ५ बजेसम्म खुला रहने जनाइएको छ । महोत्सवमा स्कुल तथा क्याम्पसका विद्यार्थीलाई लागुऔषधविरुद्धको विभिन्न नाटक, कविता, साहित्य, वादविवाद, गीतसङ्गीत तथा नृत्य प्रतियोगिता गराइनेछ । 

महोत्सवमा बाल उद्यानको साथमा रोटेपिङ, नाउँ, झुला, ड्रागन, कार तथा मोटरसाइकल रेस र सर्कसहरु मनोरञ्जनका लागि राखिनेछ भने औद्योगिक उत्पादनहरु, खाद्यान्न र हस्तकलाका सामानको स्टल राखिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । दैनिक पाँच हजार नागरिकले अवलोकन गर्ने अपेक्षा राखिएको महोत्सवमा प्रवेश शुल्क रु ७० राखिएको छ । पाँच वर्षमुनिका बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिकलाई महोत्सव प्रवेश निःशुल्क गरिएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १८:२०
प्रतिक्रिया दिनुहोस्