नेपालको शान्ति प्रक्रियाबारे राष्ट्रसंघ महासचिवकोे प्रसंसा गौरवको बिषय : अध्यक्ष नेपाल

मंगलबार, कात्तिक १४, २०८०

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकको शान्ति प्रक्रियाका बारेमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रसंसा गर्नु नेपालका लागि गौरवको बिषय भएको बताएका छन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले खासगरि शान्ति प्रक्रिया, संक्रमणकालीन न्यायसंग जोडिएको बिषयमा नेपालकै पहलकदमीमा अघि बढाउने र समाधान गर्ने बिषयमा राष्ट्रसंघका महासचिवले प्रसंसा गर्नु नेपालका लागि गौरवको बिषय भएको बताएका हुन् ।

त्यस्तै, जलवायु परिवर्तनका कारण नेपालमा परेको असरलाई विश्वसामू उठाउने बिषय पनि निकै सकारात्मक रहेको उनले बताए । उनले सम्पन्न देशले जलवायु परिवर्तनको असरको प्रभावको जिम्मा लिनुपर्ने, विश्व शान्तिका लागि नेपालको भूमिकाको प्रसंसा हुनु खुसीको कुरा भएको जिकिर गरे ।

त्यस्तै, नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले राष्ट्रसंघका महासचिवले संसदमा गर्नुभएको संवोधनले नेपाललाई विश्वसामू थप उजागर गर्न मद्धत पुग्ने बताए । संविधान निर्माण, शान्तिप्रक्रिया लगाएतमा राष्ट्रसंघका महासचिवले गरेको प्रसंसाले अन्तराष्ट्रिय जगतमा नेपाललाई उपलव्धी हासिल गर्न सहज हुने उनले बताए ।

त्यस्तै, माओवादी केन्द्रका नेता बर्षमान पुनले राष्ट्रसंघका महासचिवको सम्बोधनले नेपालको मौलिकतामा शान्तिप्रक्रिया अघि बढाउन सहज हुने र आगामी दिनमा शान्तिप्रक्रिया टुङ्गाउन प्रोत्साहित गरेको बताए ।

यस्तै उनले जलवायु परिवर्तनले नेपाललाई पारेको असर विश्वमा जानकारी गराउन राष्ट्रसंघका महासचिवको सम्बोधन उल्लेखनीय रहेको धारणा राखे ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १८:४२
प्रतिक्रिया दिनुहोस्