बङ्गलादेशमा गार्मेन्ट मजदुरको प्रदर्शनमा, एक श्रमिकको मृत्यु

सोमबार, कात्तिक १३, २०८०

ढाका– बङ्गलादेशमा हजारौं गार्मेन्ट श्रमिकले न्यूनतम पारिश्रमिक तीन गुणा बढाउन माग गर्दै सोमबार प्रदर्शन गरेका छन् भने सुरक्षा बलसँगको झडपमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बङ्गलादेश विश्वको सबैभन्दा ठूलो गार्मेन्ट निर्यातकर्ताहरूमध्ये एक हो, जहाँ कपडा उद्योगले देशको वार्षिक ५५ अर्ब डलरको निर्यातको ८५ प्रतिशत हिस्सा ओगटेको छ । तर, देशको ४० लाख कपडा कामदारहरूमध्ये धेरैको अवस्था दयनीय छ ।

प्रहरीका अनुसार देशको सबैभन्दा ठूलो औद्योगिक शहर गाजीपुरमा कम्तीमा १० हजार मजदुरले सिफ्ट छोडेर विरोध प्रदर्शन गरेका छन् भने अन्य सात हजारले आशुलिया र हेमायतपुर क्षेत्रमा विरोध प्रदर्शनमा सहभागी भएका छन् ।

आशुलिया गार्मेन्ट युनियनका नेता मोहम्मद इब्राहिमले एक लाखभन्दा बढी प्रदर्शनकारी रहेको भन्दै प्रहरीको तथ्याङ्कको खण्डन गरेका छन् । राजधानी ढाकाको उत्तरमा रहेको मेमनसिंह जाने राजमार्गमा भएको प्रहरी र आन्दोलनकारीबीचको झडपमा एक श्रमिकको मृत्यु भएको छ । 

उक्त स्थानमा कम्तीमा चार हजार मजदुर र प्रहरीबीच झडप भएको थियो । प्रदर्शनका क्रममा मजदूरले एउटा पिकअप ट्रकमा आगो लगाएको अधिकारीहरूले एएफपीलाई बताएका छन् भने उनीहरूले दिनभर सडक अवरुद्ध गरेका प्रहरीले पुष्टि गरेको छ ।

“झडपका क्रममा एक जना गार्मेन्ट मजदुर घाइते भएका र अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको छ,” गाजीपुरस्थित औद्योगिक प्रहरी एकाइका प्रमुख सरवर आलमले भने, “तिनीहरूले हाम्रा अधिकारीहरूमाथि ढुङ्गा र इट्टाले आक्रमण गरेका छन् भने झडपमा केही प्रहरी घाइते भएका छन् । मजदुरलाई तितरबितर पार्न हामीले अश्रुग्याँस र ध्वनि ग्रिनेडको सहारा लिनुपरेको थियो ।” 

प्रहरीका अनुसार प्रदर्शनकारीले झ्याल फुटाउनुका साथै फर्निचरमा क्षति पुर्‍याउँदा कम्तीमा ४० उद्योगमा क्षति पुगेको छ । 

बङ्गलादेशको औद्योगिक क्षेत्रका प्रहरी प्रमुख महबुबुर रहमानले एएफपीसँग कुरा गर्दै अधिकारीहरूले विरोध प्रदर्शनलाई शान्तिपूर्ण रूपमा समाधान गर्न युनियनका नेताहरूसँग कुराकानी गरिरहेको बताएका छन् ।  

बङ्गलादेशमा लगभग तीन हजार ५०० गार्मेन्ट कारखानाहरू छन्, जहाँ विश्वका केही ठूला खुद्रा बिक्रेता र ब्रान्डहरूका लागि कपडाहरू बनाइन्छन् । तर, त्यहाँ काम गर्ने श्रमिकको आधारभूत मासिक ज्याला औसत आठ हजार ३०० टाका (७५ अमेरिकी डलर) रहेको छ ।

देशको सबैभन्दा ठूलो कपडा उत्पादक सङ्घले नयाँ मासिक न्यूनतम आधारभूत ज्यालालाई २५ प्रतिशत वृद्धिको प्रस्ताव गरेपनि श्रमिकहरूले यसलाई तीन गुणा अर्थात् दुई हजार ३०० टाका (२०८ अमेरिकी डलर) पुर्‍याउनुपर्ने माग गर्दै सप्ताहन्तमा विरोध प्रदर्शन सुरु गरेका हुन् ।

बङ्गलादेशमा प्रमुख विपक्षी दलहरूले प्रधानमन्त्री शेख हसिनाले देशमा मौलाएको भ्रष्टाचार तथा अनियमिततालाई रोक्न नसकेको र विरोधीहरूलाई बल प्रयोग गरी आफूले निर्वाचन जित्ने वातावरण बनाउन खोजेको भन्दै आन्दोलित भएका छन् ।  श्रमिक आन्दोलन र विपक्षी दलको आन्दोलन एकै समयमा हुनुलाई मजदूर नेताहरूले संयोग मात्र भएको बताएका छन् । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  २१:२७
प्रतिक्रिया दिनुहोस्