Nic Ad Nic Ad
Nic Ad Nic Ad

तनहुँमा ५३ ग्राहकका विद्युत् लाइन काटियो

सोमबार, कात्तिक १३, २०८०

तनहुँ– विद्युत् प्राधिकारण तनहुँ वितरण केन्द्रले ६० दिनसम्म विद्युत् महसुल नबुझाएका ग्राहकहरुको धमाधम विद्युत् लाइन काट्न सुरु गरेको छ । आइतबार र सोेमबार गरी दुई दिनमा ५३ ग्राहकको विद्युत् लाइन काटेको केन्द्रले जनाएको छ । 

ग्राहकबाट रु १० लाख ६१ हजार १० महसुल सङ्कलन हुनपर्ने देखिएको केन्द्रका सूचना अधिकारी डम्बरबहादुर श्रेष्ठले जानकारी दिए । उक्त लाइन काटिएकामध्ये ३४ जना ग्राहकले रकम बुझाएर पुनः लाइन जडान गरेका छन् । उनले भने, “लाइन काटिएका ग्राहकले पुनः लाइन जडान गर्दा रु पाँच लाख तीन हजार छ सय ७८ महसुल सङ्कलन भएको छ ।”

कार्यालयले विद्युत् लाइन काट्ने अभियानलाई दैनिकरुपमा निरन्तरता दिन लागेको उनले बताए । मिटर रिडिङ गरेको ६० दिनसम्म विद्युत् महसुल नबुझाएका ग्राहकका विवरण निकाली लाइन काट्न सुरु गरेको सो केन्द्रले जनाएको छ ।  

लाइन काटिएका ग्राहकले बिल रकममा २५ प्रतिशत अतिरिक्त जरिवाना तथा लाइन जोड्नका लागि दस्तुर रु आठ सय ४७ समेत बुझाउनुपर्ने प्रावधान रहेको छ । 

विद्युत् महसुल सङ्कलन विनियमावली २०७८ अनुरुप मिटर रिडिङ भएको सात दिनभित्र महसुल बुझाएमा ग्राहकले दुई प्रतिशत छुट पाउने व्यवस्था रहेको केन्द्रका कार्यालय प्रमुख विजयराज रेग्मीले जानकारी दिए । 

उनका अनुसार आठौँ दिनदेखि १५ दिनसम्म बुझाएमा बिलअनुरुप महसुल बुझाउन पाइन्छ तर जरिवाना लाग्दैन । त्यसैगरी, १६औँ दिनदेखि ३०औँ दिनसम्म पाँच प्रतिशत, ३१औँ दिनदेखि ४०औँ दिनसम्म बुझाएमा १० प्रतिशत र ४० दिनपछि बुझाएमा २५ प्रतिशत थप दस्तुर लाग्ने व्यवस्था छ । जिल्लामा हालसम्म साठी हजारभन्दा बढी विद्युत् ग्राहक छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  २१:२१
प्रतिक्रिया दिनुहोस्