महामन्त्रीद्वयले दिएको धोकापछी शेखर कोईरालाको कोशीमा विद्रोह

बुधबार, कात्तिक १, २०८०

काठमाडौँ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिंदैछन् । कांग्रेसबाट शेखर कोईराला पक्षधरसहित नेकपा एमाले पार्टीको समर्थनमा केदार कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् ।

आज विश्वासको मत लिने तयारीमा रहेका केदार कार्कीलाई अहिले केन्द्रिय सत्ता गठबन्धनले पनि समर्थन गर्ने भएको छ ।

नेपाली कांग्रेसका नेता डा शेखर कोईरालाले एकाएक नेकपा एमालेसंग सहमती गरेर केदार कार्कीलाई मुख्यमन्त्रीको दाबेदार बनाएपछि नेपाली कांग्रेसभित्र भूकम्प गए झैं भएको छ । नेपाली कांग्रेस भित्र चिरा परेसंगे अब कांग्रेस फुटाउने दौडमा शेखर कोईराला भन्ने भाष्य समेत निर्माण गरिएको थियो । तर आज सम्मको परिस्थिती हेर्दा न नेपाली कांग्रेस फुट्ने नै भयो, न शेखर कोईरालाले फुटाउन नै खोजे । बरु आज नेपाली कांग्रेसले संस्थागत रुपमा पार्टी कै विद्रोही रुपमा मुख्यमन्त्री बनेका केदार कार्कीलाई नै समर्थन गर्ने भन्दै शेखर कोईरालामा लागेको दाग मेटाई पनि दियो ।

शेखर कोईरालाले आखिर किन पार्टी मै विद्रोह गरेर नेकपा एमालेसंग समीकरण गर्दै केदार कार्कीलाई मुख्यमन्त्री बनाए भन्ने प्रश्न अझै उब्जीएको छ । यसको उत्तर खोज्न हामीले नेपाली कांग्रेस भित्र भएको अन्तरसंघर्षको केहि घटनाहरुलाई केलाउनु पर्नेहुन्छ । शेखर कोईराला रहरले भन्दा पनि वाध्यताले यो कदम चाल्न पुगेको भन्ने भान केहि घटना क्रमहरुले देखाउँछ ।

सरकारको काम प्रती असन्तुष्टी 

शेखर कोईराला समूहले आफ्नै पार्टीले समर्थन गरेको सरकार प्रती पूर्ण रुपमा असन्तुष्टी प्रस्तुत गर्दै आएका थिए । पार्टी मै पनि खुलेरै शेखर समूहका नेताहरुले आफ्नो आवाज उठाएका थिए । शेखरले त समय समयमा मिडिया मै यस विषयलाई उठाएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफ्नो स्वेच्छाले निर्णयहरु गर्न लागेको र यसको अपजस नेपाली कांग्रेसले पनि भोग्नुपर्ने भएकोले सरकारको नेतृत्व अब नेपाली कांग्रेसले लिनुपर्ने माग उठाउदै आएका थिए ।

शेखर कोईरालाले आफू प्रधानमन्त्री नभएपनि पार्टीको संसदीय दलको नेता शेरबहादुर देउवा नै प्रधानमन्त्री बनेर सरकार बनाउनुपर्ने माग राखिरहेका थिए । शेखरको आवाजमा महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले पनि साथ नदिएका भने होईनन् । जब भुटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टीको नेता बालकृष्ण खांडलाई पक्राउ गरियो तर सुन प्रकरणमा खुलस्त तरिकाले नै माओवादी नेताहरुको नाम जोडीदा प्रधानमन्त्री दाहालले आफ्नो नेताहरुलाई जोगाए, शेखर कोईराला समूह झन् आक्रोशित बनेको थियो ।

प्रधानमन्त्री प्रचण्डको हरेक निर्णयमा नेपाली कांग्रेसले मौन समर्थन गरिरहँदा शेखर कोईरालासमूह असन्तुष्ट थियो । युवा नेताहरु भनिने प्रदिप पौडेलदेखि अजय बाबु सिवाकोटीहरुले यस विषयमा आवाज उठाउनुपर्ने र कांग्रेस पार्टीको सभापतीलाई दबाब दिन ठोस कदम चाल्न शेखर कोईरालालाई आग्रह गरिरहेका थिए । त्यहि अनुरुप नै शेखर कोईरालाले पार्टीभित्रैबाट अन्तरसंघर्ष गरेर सरकारको नेतृत्व आफ्नो पार्टीले लिनेगरि गृहकार्य सुरु गरेका थिए ।

महामन्त्रीद्वयले दिएको धोका

महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा संधै पार्टीको नेतृत्व परिवर्तनको कुराहरु मिडियामा गर्दै आएका हुन्छन् । प्रचण्डसंग गर्ने गठबन्धनदेखि सरकारसंग हुने निर्णयमा सभापती शेरबहादुर देउवाले आफ्नो खुशी गरेकोले आफूहरुलाई जवाफ दिन अफ्ठ्यारो परेको कुरा प्राय भाषणहरुमा पोखिरहेका हुन्थे । यहि कारण पनि महामन्त्रीद्वय नै शेखर कोईरालासंग निकट नै थिए ।

गगन कुमार थापा त शेखर कोईरालाकै गुटमा छन् भने विश्वप्रकाश शर्मा शेखर समूहमा नभएपनि शेखरसंग निकट नै थिए । गगन थापालाई संसदीय दलको नेता चयन गर्ने प्रयासदेखि विश्वप्रकाश शर्मा शेखर समूहसंग निकट थियो । महामन्त्रीद्वयले अब कांग्रेस सभापती विरुद्ध उभिनुपर्ने र नेतृत्वलाई कि सच्च्याउने नत्र परिवर्तन गर्ने भन्दै शेखर कोईरालासंग गृहकार्य मै थिए ।

गगन कुमार थापा र शेखरबीच एक समझदारी सम्म थियो कि शेखर कोईरालाले पार्टी सम्हाल्ने र गगन थापा संसदीय दलको नेता बन्ने । गगन थापाको प्रस्तावमा शेखर कोईराला सहमत झैं थिए । तर पार्टीको बैठकअघि शेखर समूहको बैठकमा विश्वप्रकाश शर्मा र प्रदिप पौडेल सहभागी नभएर शेखर कोईरालालाई धोका दिएका थिए । गगन थापा मात्र सहभागी भएपछि गगनले शेखरलाई भनेका थिए, "दाई अन्य साथीहरु अझै हिम्मत गर्नुभएको छैन । केहि समय अझै कुरौं अनि नेतृत्व विरुद्ध लडौं । नत्र अस्ति संसदीय दलको चुनावमा मैले हार भोगेको झैं हुन्छ । अझै तयारी गर्नुपर्ने सल्लाह छ साथीहरुको ।"

गगन थापाले यत्ति भनेपछि शेखर कोईराला रन्थनिएका थिए । पार्टीको नेतृत्व सच्च्याउनु पर्ने आवाज उठाउनेहरुबाट अन्तिम घडीमा साथ नपाएपछि शेखर कोईरालाले कोशी विद्रोहको कदम चालेका थिए । नेपाली कांग्रेस निकट राजनीतिक विश्लेषक पुनर्जन आचार्यले भने, "शेखर कोईराला टुलुटुलु हेरेर बस्न सक्नुभएन त्यसैले वहाँले आफ्नो तरिकाले विद्रोह गर्नुभएको हो । आलोपालो प्रधानमन्त्री पाउने लोभमा पार्टी सबै माओवादी केन्द्रलाई सुम्पिनु पनि भएन नि । कोशी प्रदेशमा कांग्रेसले पाउनुपर्ने हक नपाएपछि शेखर कोईरालाले यो कदम चाल्नु भएको हो । पार्टी फुटाउने कुनै सोच राखेर होईन ।" 

शेखर कोईरालाले आगामी दिनमा यदी कांग्रेसका सभापती शेरबहादुर देउवाले पार्टीलाई केन्द्रमा राखेर निर्णय नगरेमा यस्तो विद्रोह हुन सक्ने देउवालाई बताएका छन् । आइतवार देउवा निवासमा भेट्दा शेखरले भने, "अबको प्रधानमन्त्री बन्ने तपाई नै हो र हाम्रै पार्टीको भागमा छ । त्यो त हाम्रो हक पनी हो । गठबन्धन भन्दैमा सर्वस्स लुटाउनु त भएन नि । मैले विद्रोह नगरेको भए कोशी पनि हामीले नपाउने रहेछौं । अब आउने निर्वाचनमा कसरी कांग्रेसलाई अझै ठूलो पार्टी बनाउने भन्ने सोचेर मात्र निर्णय लिनुहोला ।"

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्