नेपाल प्रहरीलाई संघीय संरचनाबारे गम्भीर हुन प्रधानमन्त्रीको निर्देशन

मंगलबार, असोज ३०, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संरचनामा आउन सक्ने अवसर, चुनौती र संवेदनशीलतामा गम्भीर हुन नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

६८ औँ प्रहरी दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भविष्यमा संघीय संरचनामा आउन सक्ने अवसर, चुनौती र संवेदनशीलतालाई मध्यनजर गर्दै प्रहरीले सबै प्रदेशहरुमा प्रदेश प्रहरी कार्यालयहरूसँग सहज, सुमधुर र प्रभावकारी सुपरीवेक्षण र समन्वयको काम गर्ने विश्वास समेत व्यक्त गरे ।

नेपालको संविधान बमोजिम, नेपाल प्रहरीले संघीय संरचनामा जान रूपान्तरणको तयारी गरेको कार्यहरू समेत महत्वपूर्ण रहेको उनको भनाइ छ । उनले सीमित साधनस्रोत, जनशक्ति र अनेकौं चुनौतीका बीच पनि अपराध नियन्त्रण र अनुसन्धानका क्षेत्रमा नेपाल प्रहरीले विश्वस्तरमा ख्याती प्राप्त गरेको ख्याती नेपालका लागि महत्वपूर्ण पुँजीसमेत रहेको धारणा राखे ।

संगठनको समय सापेक्ष आधुनिकीकरणका लागि सरकार अत्यन्त गम्भीर रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले प्रहरीको वृत्ति विकास, परिचालन र समन्वयमा सरकारले वैज्ञानिक विधि र पद्धतिको पालना गरेको र संगठनभित्र सबैले समान न्याय एवं आत्मसम्मानको प्रत्याभूत गरेको  बताए । उनले प्रहरीको छविमाथि प्रश्न उठ्ने कुनै पनि प्रकारका अवान्छित गतिविधि र गलत क्रियाकलाप नियन्त्रण गर्न प्रहरी नेतृत्व पूर्णतः सक्षम रहने विश्वास व्यक्त गरे ।

उनले विश्वशान्तिका निम्ति प्रहरी लगायतका देशका सुरक्षा अंगहरूको उपस्थिति र भूमिका बढाउने सन्दर्भमा सरकारले आवश्यक कुटनीतिक पहल लिनेसमेत जानकारी गराए ।समारोहमा नेपाल प्रहरीबाट कवाज, झाँकी तथा डेमोन्स्ट्रेशनहरूसमेत रोचक र नेपाल प्रहरीको इतिहासदेखि कार्य प्रकृतिसम्म झल्कने प्रस्तुती देखाइएको थियो । 

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  २०:४०
प्रतिक्रिया दिनुहोस्