एमाले गण्डकी अधिवेशन : शंकर र पृथ्वीसुब्बा प्यानल चुनावी मैदानमा

बुधबार, असोज १७, २०८०

पोखरा - नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनका लागि महासचिव शंकर पोखरेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सहूहकाे ‘प्यानल’ तयार भएको छ।

गण्डकीमा उपाध्यक्ष विण्णु पौडेल र पृथ्वीसुब्बा समूहबाट एउटा प्यानल र महासचिव शंकर पोखरेल र खगराज अधिकारी समूहबाट अर्को प्यानलबीच चुनाव हुने भएकाे हाे ।

यो निर्वाचनलाई नेताहरुको प्रतिष्ठा तथा सफलता, असफलतासँग जोडेर हेरिएको छ ।

शंकर पोखरेलले च्यापेका स्थायी कमिटी सदस्य खगराज अधिकारी समूहबाट मंगलबार राति नै प्यानलको टुंगो लागिसकेको थियो भने उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहबाट बुधबार बिहान प्यानलकै टुंगो लगाएको हो ।

गण्डकीमा पहिलेदेखि नै पृथ्वीसुब्बा र खगराज प्यानलका रुपमा कडा प्रतिस्पर्धा हुँदै आएको थियो । यसपटक अन्य प्रदेशमा भइरहेका चुनावी लहरजस्तै महासचिव पोखरेलले खगराज समूहलाई च्यापेका छन्। 

पोखरेल गत स्थानीय, प्रदेश र प्रतिनिधि सभाको टिकट वितरणदेखि नै हाबी हुँदै आएका छन् ।

शंकर समूहबाट केन्द्रीय सदस्य मायानाथ अधिकारी अध्यक्ष, उपाध्यक्ष नवलपुरका बाबुराम विक, सचिव कास्कीका रश्मी आचार्य, उपसचिव म्याग्दीमा सन्तोष रावल र कास्कीकी मीना गुरुङलाई उम्मेदवार बनाउने पक्का भइसकेको छ ।

पृथ्वीसुब्बा समूहबाट अध्यक्षमा म्याग्दीका नवराज शर्मा, उपाध्यक्ष स्याङ्जाका मीनप्रसाद गुरुङ, सचिव लमजुङका धनञ्जय दवाडी, उपसचिव पर्वतकी मञ्जु अधिकारी र कास्कीका दामबहादुर विकलाई उम्मेदवार बनाउने टुंगो लागेको छ ।

नेताहरुले सुरुदेखि नै सहमतिको प्रयास गरे पनि आआफ्नै पक्षका नेता गुटलाई च्याप्दा मतदान हुने पक्का भएको हो ।

तालिका अनुसार आज बिहान ९ बजे उम्देवारी फाराम वितरण गरिने, १० बजे प्रारम्भिक नामावली प्रकाशन, साढे १० सम्म उम्मेदवारमाथि उजुरीको समय र १२ बजेसम्म उजुरीको छानबिन गरी नामावली प्रकाशन गर्ने र एक बजेदेखि २ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले जानकारी दिए।

उनका अनुसार संभव भएसम्म साँझ सवा ५ बजेदेखि मतदान गर्ने प्रयास गर्ने बताए। कार्यतालिका नेताहरुलाई पनि दिएको हुनाले त्यही अनुसार व्यवस्थापन हुनेमा आफू विश्वस्त रहेको थापाको भनाइ छ।

गण्डकीका ११ जिल्ला र जनसङ्गठनबाट नौ सय सात प्रतिनिधि सहभागी छन्। अधिवेशनले एक सय ६५ सदस्यको प्रदेश कार्यसमिति निर्वाचित गर्ने छ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  ११:२९
प्रतिक्रिया दिनुहोस्