बैंककको सपिङ मलमा गोलीकाण्ड : २ जनाको मृत्यु, ५ गम्भीर घाइते

मंगलबार, असोज १६, २०८०

बैंकक– थाइल्याण्डको राजधानी बैंककको खचाखच भरिएको व्यापारिक केन्द्र (सपिङ मल)मा मङ्गलबार भएको गोलीकाण्डमा घाइते भएका थप एक जनाको मृत्यु भएको छ । 

यस पहिले अन्य एक व्यक्तिको मृत्यु भएको र छ जना घाइते भएको बताइएपनि थाई प्रहरीले अपडेट गरेको सूचनामा थप एक घाइतेको मृत्यु भएको पुष्टि गरेको छ । 

थाइल्याण्डको राजधानी बैंककको मध्यभागमा रहेको सियाम पारागोन मलमा स्थानीय समयअनुसार अपराह्न ४ः३० बजे गोली चलेपछि सयौँ मानिस भागेका प्रत्यक्षदर्शीले बताएका छन् । 

यस पहिले सम्प्रेषित समाचारमा एक जनाको मृत्यु भएको बताइएपनि थाई सञ्चारमाध्यमले प्रहरी र स्वास्थ्यकर्मीलाई उद्धृत गरी थप एकको मृत्यु भएको उल्लेख गरेका छन् । मृत्यु भएका अर्का व्यक्ति म्यान्माकी महिला भएको प्रहरीले बताएको छ ।

आक्रमणमा पाँच जना घाइते भएको र उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ । गोली लागेकामध्ये एक जनाबाहेक सबै महिला थिए । 

रोयल थाई प्रहरीको महानगरीय अनुसन्धान विभागले आफ्नो आधिकारिक फेसबुक पेजमा १४ वर्षीय एक किशोरलाई गोली हानेको आरोपमा पक्राउ गरिएको जनाएको छ । 

इरावान इमर्जेन्सी सेन्टरका निर्देशक युथाना स्रेतानानले यसपहिले सञ्चारमाध्यमलाई दिएको जानकारीमा एक महिलाको हत्या भएको पुष्टि गरेका थिए ।

उनले यस पहिले उक्त घटनामा तीन जनाको मृत्यु भएको भनी आएको समाचारको खण्डन गर्दै एक व्यक्तिको मात्र मृत्यु भएको बताएका थिए । युथानाले भने, “प्रारम्भिक अनुसन्धानबाट एक जना महिलाको मृत्यु भएको र मृतक चिनियाँ नागरिक रहेको खुल्न आएको छ ।”
 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  २१:१०
प्रतिक्रिया दिनुहोस्