बैंकहरू पनि मिटरब्याजी सरह भए : डा. शेखर कोइराला

बुधबार, असोज १०, २०८०

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बैंकहरू पनि मिटरब्याजी सरह भएको बताएका छन् ।

काठमाडौँको शंखरापुरको वनदेवी आधारभूत विद्यालयमा राकेश हमालको शालिक अनावरण तथा कम्प्युटर ल्याब हस्तान्तरण कार्यक्रममा बोल्दै उनले बैंकहरूमाथि यस्तो आरोप लगाएका हुन् ।

देशको आर्थिक अवस्था खतरामा रहेको भन्दै उनले मिटरब्याजीलाई कारबाही गर्न कानुन बने पनि बैंकहरूका कारण जनता आजित हुने अवस्था आएको बताएका छन् ।

‘देशको आर्थिक स्तर खतरामा छ । कानुन बनाएर मिटब्याजीलाई कारबाही गर्न सुरु गरे पनि अर्को खतरा देखिरहेको छु,’ उनले भने, ‘बैँकहरू मिटरब्याजी हुन् कि भन्ने लागेको छ। ब्याज १३ प्रतिशतसम्म तिराएको छ । अहिले रेमिट्यान्स आयो भनेर खुसी छौँ । यसले खतरा बढाइरहेको छ । उद्यमशील बनाउन नसके युवाविहीन हुने अवस्थामा पुगिन्छ। राज्यले बीउ पुँजी दिनुपर्छ होइन भने अप्ठ्यारो हुँदैछ।’

त्यस्तै, उनले शिक्षका मागमा सरकार गम्भीर हुनुपर्ने बताएका छन् । ‘शिक्षकलाई उच्च सम्मान दिएर जान नसके राम्रो हुँदैन । ईसीडी कक्षाको सेवा सुविधा पुनर्विचार गरौँ। शिक्षक खुसी नराखी विद्यार्थी राम्रो हुँदैनन्,’ उनले भने, ‘संविधानको फ्रेमभित्रै रहेर शिक्षकका माग सम्बोधन गर्नुपर्छ ।’

कोइरालाले देशभर अराजकता चलेको बताएका छन्। अराजकता रोक्नुपर्ने र सामाजिक सद्भाव कायम राख्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै, कोइरालाले देश युवाविहीन हुने खतरा बढेको बताएका छन् । देशका दक्ष जनशक्ति विदेश पलायन हुनु राम्रो संकेत नभएको उनको भनाइ छ ।

‘खाडीमा गएकाहरू त फर्केलान तर डाक्टर, इन्जिनियरलगायत पलायन हुँदैछन् । उनीहरू पलायन हुँदा देशको अवस्था के होला ?,’ उनले भने, ‘यी कुरा सुधार गरेर कुरामा पारदर्शी हुन सके, भ्रष्टाचार नियन्त्रण गर्न सके असल नेपाल बनाउन सकिन्छ ।’

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  २१:२२
प्रतिक्रिया दिनुहोस्