बिरामीको मृत्युपछि मणिपाल अस्पतालमा तनाव

सोमबार, असोज ८, २०८०

गण्डकी– उपचारका क्रममा बिरामीको मृत्यु भएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पताल तनावग्रस्त बनेको छ । 

असहज महसुस भएपछि आज बिहान अस्पताल ल्याइएकी लमजुङकी ५७ वर्षीया सुकमाया दुराको मृत्यु भएपछि आफन्तजन आक्रोशित बनेका छन् । 

उनीहरूले उपचारका क्रममा बिरामीको अवस्थाबारे कुनै जानकारी नदिइएको र अस्पतालकै लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् । उपचारमा संलग्न चिकित्सकमाथि नै हातपात हुन थालेपछि अस्पतालमा अहिले ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । 

आक्रोशित भीडले अस्पतालको ढोकाको सिसासमेत फुटाएको प्रहरीले जनाएको छ । चिकित्सकमाथि हातपात भएको भन्दै स्वास्थ्यकर्मीले पनि विरोध जनाइरहेका छन् । अस्पताल प्रशासन र दिवङ्गत दुराका आफन्तबीच वार्ता भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले बताए । 

जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिसहितको वार्ता कुनै टुङ्गोमा नपुगेको जनाइएको छ । अस्पतालको अवस्था नियन्त्रणबाहिर नजाओस् भनेर सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी प्रवक्ता विकले बताउनुभयो । अस्पताल व्यवस्थापनले घटनाको यथार्थ छिट्टै सार्वजनिक गरिने जनाएको छ । –रासस

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  २०:१२
प्रतिक्रिया दिनुहोस्