किर्ते कागजमा सयभन्दा बढी नेपाली जापान पुगेको खुलासा

शुक्रबार, असोज ५, २०८०

काठमाडौं - नेपाल जाइका अल्मुनाई एसोसिएसन (जान)को लेटरप्याड र सोही संस्थाको अध्यक्ष डा. रामचन्द्र भुसालको नक्कली हस्ताक्षर प्रयोग गरी तीन वर्षभित्र एक सयभन्दा बढी प्रशिक्षार्थी कामदार जापान पुगेको खुलासा भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्रशिक्षार्थी कामदार जापान पठाउन भाषा र संस्कृतिसम्बन्धी परीक्षा लिन स्वीकृति लिएको जान भन्ने संस्थाको कागजातको दुरुपयोग गरी प्रशिक्षार्थी कामदार विदेश पुगेका हुन् ।

गत असारको पहिलो साता जानका भाषा परीक्षकले सामाजिक सञ्जालबाट भाषा परीक्षामा अनुत्तीर्ण भएका ३ जना प्रशिक्षार्थी जापान पुगेको जानकारी पाएपछि पहिलो पटक संस्थाको लेटर प्याड र अध्यक्ष डा. भुसालको हस्ताक्षर किर्ते गरी अनुचित ढंगबाट परीक्षार्थी कामदारहरू जापान पुगेको खुलासा भएको हो ।

यससम्बन्धी छानबिन गर्न वैदेशिक रोजगार विभागका प्रशासन शाखा निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिलाई छानबिनका लागि १ महिनाको समय दिइएको छ ।

जानका अध्यक्ष डा. भुसालले भने– ‘हामीले गत असारको पहिलो सातामा जानको भाषा परीक्षामा अनुत्तीर्ण भएकाहरू जापान पुगेको भेटेपछि सम्बन्धित मेनपावर कम्पनीलाई सोधेका थियौं । उक्त कम्पनीले ती व्यक्तिहरू जापान पुगेको पुष्टि गरेपछि हामीले यो कसरी सम्भव छ भनेर कागजात मगाउँदा कम्पनीले जापान पुगेका व्यक्तिको भाषा उत्तीर्णको नक्कली प्रमाणपत्रको फोटोकपी हामीलाई उपलब्ध गराएको थियो । जेठ २१ गतेको मिति उल्लेख भएको उक्त प्रमाणपत्र जानको लेटरप्याड र मेरो हस्ताक्षर किर्ते गरिएको बनाइएको थियो । त्यसपछि हामीले असारको ८ गते वैदेशिक रोजगार विभाग, श्रम मन्त्रालय, सम्बन्धित मेनपावर, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र त्रिभुवन विमानस्थलको अध्यागमनलाई यसबारे जानकारी गरायौं र यसमा छानबिन गर्न आग्रह गर्यौ ।’ उनले त्रिभुवन विमानस्थलको अध्यागमनमा ती कामदारहरूको प्रमाणपत्रलाई जानको चिठ्ठीसँग जुधाएर हेरेको भए यस्तो गलत काम हुनै नसक्ने दाबी गरे।

त्यसपछि विभागका महानिर्देशक मदन दहालले ३ वर्ष अघिदेखिकै अनुत्तीर्णहरूको सूची मगाएपछि जानले तीन वर्षभित्रमा परीक्षामा अनुत्तीर्ण भएका २ सय ३५ जना परीक्षार्थी कामदारहरूको सूची विभाग, बोर्ड, अध्यागमन र मेन पावर कम्पनीलाई पठाएको जानका अध्यक्ष डा. भुसालले बताए। तर, तीमध्ये कति जना जापान पुगे भन्नेबारेमा जानलाई कुनै जानकारी नभएको बताउँदै उनले भने– ‘यो त विभागले थाहा पाउने कुरा हो । श्रम स्वीकृति लिएको भए गयो, नलिएको भए गएन ।’ यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ०७:१८
प्रतिक्रिया दिनुहोस्