शिक्षकहरूको आन्दोलन आजपनि जारी, लाखौं विद्यार्थीको पठनपाठन प्रभावित

बिहीबार, असोज ४, २०८०

काठमाडौं- देशभरका शिक्षकहरुको आन्दोलन आजपनि जारी रहने भएको छ। जसका कारण आजदेखि देशभरका विद्यालयमा पठनपाठन प्रभावित भएकाे छ। सामुदायिक विद्यालयका विद्यार्थीहरू विद्यालय पुगेर फर्किएका छन्।

विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौं देशभरका ७० लाख भन्दा बढी विद्यार्थीहरूको विद्यार्थीहरूको पठनपाठन प्रभावित हुने भएको हो।

नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौं आएका छन्। हिजो संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको थियो। आजदेखि अनिश्चितकाल सम्मका लागि देशभरका सामुदायिक विद्यालय बन्द हुन लागेका हुन्।

नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले शिक्षक कर्मचारी आन्दोलनका लागि काठमाडौं आएकोले सम्पूर्ण विद्यालयको पठनपाठन अवरुद्ध हुने बताए ।

सरकारकै कारण काठमाडौं आएर आन्दोलन गर्नुपरेको भन्दै विद्यार्थीहरूको पढाईमा कुनै समस्या नपार्ने उनले बताए । आन्दोलनको पहिलो दिन हिजो  ७० हजारको हाराहारीमा शिक्षकहरु प्रदर्शनमा उत्रिएका थिए । यो संख्या आज झन बढ्ने महासचिव सुवेदीको भनाइ छ।

देशभरका ३० हजार सरकारी विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलित बनेका हुन् ।

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शिक्षकलाई पालिकामातहत राख्ने व्यवस्था गरेको छ। पालिकामातहत राख्ने प्रावधानप्रति महासंघले असन्तुष्टि जनाउँदै आन्दोलित बनेको हो । महासंघले शिक्षकका पेसागत सुरक्षा, हकहित र सम्मानको माग अघि सारेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १२:२१
प्रतिक्रिया दिनुहोस्