७० भन्दा बढी गोही शहरमा छिरेपछि...

मंगलबार, भदौ २६, २०८०

बेइजिङ– चीनको एक सहरले हालैका दिनहरूमा आएको बाढीका कारण ठूलो सङ्ख्यामा भागेका गोहीको खोजी सुरु गरेको अधिकारीहरूले मङ्गलबार बताएका छन् ।

गत हप्ता दक्षिणी चीनमा आएको आँधीका कारण ठूलो वर्षा भएपछि हङकङ र अन्य क्षेत्रमा डुबान भएको थियो ।

गुआङडोङ प्रान्तको माओमिङ शहर वरपर बाढी र डुवान हुँदा एउटा व्यावसायिक गोही फार्म सञ्चालन गरिएको तालबाट ७० भन्दा बढी गोही भागेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

स्थानीय आपतकालीन व्यवस्थापन कार्यालयमा फोनको जवाफ दिने एक व्यक्तिले मङ्गलबार एएफपीलाई बताएअनुसार अधिकारीहरूले सरीसृपको उद्धारका लागि काम गरिरहेका छन् ।

ती व्यक्तिले अझै कति जनावर खुला अवस्थामा छन् वा अहिलेसम्म कुनै पनि फेला परेका छन् कि छैनन् भन्नेबारे केही बताएनन् ।

राज्य समर्थित बेइजिङ न्यूजले प्रकाशित गरेको एक भिडियोमा रातो पोसाक लगाएका उद्धारकर्मीहरूले उद्धार डुङ्गामा बाढीले भरिएका खेतहरू खोजिरहेको देखाइएको छ । थप तस्बिरमा दुई मिटर लामो खस्रो जनावर सडकमा लडिरहेको र उनीहरूका मुख रातो टेपले बाँधिएको देखिन्छ । 

“गोही अझै पनि पानीमा छन् र धेरै सरकारी विभागहरूले तिनीहरूलाई समात्ने काम गरिरहेका छन्,” चाइना नेशनल रेडियो ९सीएनआर० ले स्थानीय कृषि ब्यूरोलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ । “गोहीको निश्चित सङ्ख्या गणनासहित घटनाको अनुसन्धान भइरहेको छ,” सीएनआरले भनेको छ । 

गोहीलाई चीनमा छालाका साथै मासुका लागि पनि हुर्काइन्छ, जुन कहिलेकाहीं परम्परागत औषधिमा पनि प्रयोग गरिन्छ । सीएनआरका अनुसार उक्त क्षेत्रमा ‘गोही थीम पार्क’ र ‘देशकै सबैभन्दा ठूलो गोही प्रजनन शिविर’ पनि रहेको छ ।

वेइबो सोसल मिडिया प्लेटफर्ममा प्रयोगकर्ताहरूले गाही तालबाट बाहिरिएको र तिनीहरूलाई नियन्त्रण गर्न तत्काल सरकारी अधिकारीको थप ध्यान केन्द्रित हुनुपर्ने उल्लेख गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १७:५८
प्रतिक्रिया दिनुहोस्