नेभिगेशन
सुरक्षा–अपराध

राजश्व अनुसन्धान विभागका प्रमुखले चुहाए सुनकाण्डको प्रतिवेदन! सीआईबीलाई समस्या

काठमाडौं ६० किलो सुन तस्करी प्रकरण छानबिनको प्रतिवेदन राजश्व अनुसन्धान विभागका प्रमुख नवराज ढुंगानाले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई जिम्मा दिनु अघि चुहावट गरेको आशंका भएको छ।

अनुसन्धान प्रतिवेदनको गोप्य सबै विवरण सीआईबीलाई बुझाउनुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई ढुंगानाले बुझाएको उच्च स्रोतको दाबी छ। अनुसन्धान प्रतिवेदनका अनेक तथ्य एकएक गरी सार्वजनिक हुन थालेपछि सीआईबीलाई सुनकाण्ड अनुसन्धान गर्नका लागि समस्या परेको छ।

त्रिभुवन विमानस्थलबाट तस्करी भई सिनामङ्गलमा ट्याक्सीमा फेला परेको तस्करीको सुन प्रकरणबारे अनुसन्धान गरेको विभागबाट खोसेर त्यसको छानबिन गर्ने जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी महानिरिक्षक (आईजी) बसन्तु कुँवर र सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यलाई प्रत्यक्ष जिम्मेवारी दिएका थिए।

सुनकाण्डको अनुसन्धान प्रतिवेदन चुहावट भई त्यसका विवरण सार्वजनिक रुपमा मिडियामा आउन थालेपछि सीआईबीले संदिग्धहरूलाई बयानका लागि बोलाउनुपूर्व नै फरार हुन सक्ने सम्भावना बढेको छ।

अनुसन्धान सँधै गोप्य हिसाबले गरेर थप प्रमाण जुटाई कारबाहीका लागि सिफारिस गर्न सहज हुने थियो। तर सबै विवरण सार्वजनिक हुन थालेपछि अनुसन्धानको दायरामा आउन सक्ने व्यक्तिहरू फरार हुने सम्भावना बढ्यो, उच्च स्रोतले भन्यो,‘यो प्रतिवेदन विभागका प्रमुखले नै चुहावट गरेको भन्ने कुरा आएको छ।

उक्त विभाग प्रधानमन्त्री प्रचण्ड मातहतमा रहेको छ। यसमा प्रधानमन्त्री कार्यालयका अधिकारीलाई पनि शंकाको दायरामा हेर्ने स्थिति आयो, यो प्रकरण साधारण होइन। छानबिनमा गम्भिर असर गर्न सक्छ, उच्च स्रोतले भन्यो,‘अनुसन्धान गर्ने जिम्मेवारी सरकारले खोसेको रिसमा अन्यतिर लिक गरेको हुने आँकलन गरिएको छ।

विभागका प्रमुख ढुंगानालगायत प्रारम्भिक रुपमा खटिएका र प्रतिवेदन तयार पार्ने अधिकारीलाई छानबिन गर्नका लागि पनि भित्रभित्रै माग गरिएको छ। ललिता निवास प्रकरणमा सहजताका साथ अनुसन्धान गरेको सीआईबीका लागि सुनकाण्ड अनुसन्धान पेचिलो बन्नुको कारण पनि यहि भएको अधिकारीहरु बताउँछन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध