एसिया कप क्रिकेट

नेपाल र भारतबीचको खेल पुनः अवरुद्ध

सोमबार, भदौ १८, २०८०

काठमाडौँ– एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतमा नेपाल र भारतबीचको खेल वर्षाका कारण पुनः अवरुद्ध भएको छ । 

नेपालले दिएको दुई सय ३१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा पानी परेपछि खेल रोकिएको हो । श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट स्टेडियममा भएको खेलमा भारतले दुई दशमलव एक ओभरमा १७ रन बनाउँदा पानी परेपछि खेल अवरुद्ध भएको हो । 

भारतले ब्याटिङ गर्ने क्रममा शुभमन गिल छ बलमा तीन चौकासहित १२ रनमा क्रिजमा छन् भने रोहित शर्मा सात बलमा एक चौकासहित चार रनमा क्रिजमा रहेका छन् । यसअघि नेपालले ब्याटिङ गर्दा वर्षाका कारण खेल करिब ४५ मिनेट रोकिएको थियो । 

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४८ दशलव दुई ओभरमा सबै विकेट गुमाउँदै दुई सय ३० रन बनाएको थियो । 

भारतसामु २३१ रनको लक्ष्य

अन्तर्राष्ट्रिय क्रिकेट खेलको २७ वर्षपछि पहिलो पटक भारतसँग खेलेको नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्‍यो । नेपालका लागि सुरुआती ब्याट्सम्यान आसिफ शेखले सर्वाधिक ५८ रनको योगदान दिए । उनले ९७ बलमा ८ चौकाको मद्दतमा सर्वाधिक ५८ रनको योगदान दिए । उनी एसिया कपमा तथा भारत विरूद्धको खेलमा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडीसमेत बने ।

त्यसैगरी अर्का सुरुआती ब्याट्सम्यान कुशल भुर्तेल ३८ रन बनाएर आउट भए । शार्दुल ठाकुरको बलमा दशौँ ओभरको पाँचाैँ बलमा आउट हुनुअघि उनले २५ बलमा ३ चौका र २ छक्काको मद्दतमा ३८ रन बनाएका हुन् । उनले आसिफ शेखसँग पहिलो विकेटका लागि नौ दशमलव पाँच ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । भुर्तेल पेभेलियन फर्किएपछि नेपालले लगातार विकेट गुमाउन पुग्यो । 

कप्तान रोहित पौडेल भारतका रवीन्द्र जडेजाको बलमा पाँच रनमा आउट भए । कुशल मल्ल चौथो विकेटको रूपमा दुई रनमै आउट भए । भीम सार्की पनि सात रनमा भारतका जडेजाको बलमा १६ ओभरमा बोल्ड हुन पुगे । त्यसैगरी छैटौँ विकेटको रूपमा गुल्सन झा २३ रन बनाउँदै पेभेलियन फर्किए । उनले ३५ बलमा ३ चौकाको मद्दतमा २३ रन बनाएका थिए । 

सातौँ विकेटका रूपमा नेपालले दीपेन्द्र सिंह ऐरीलाई गुमायो । उनी खेलको ४१ दशमलव एक ओभरमा २९ रन जोड्दै आउट भए । उनले २५ बलमा तीन चौकाको मद्दतमा २९ रन बनाएका हुन् । नेपालले आठौँ विकेटको रूपमा सोमपाल कामीलाई गुमायो । सोमपाललाई भारतका मोहम्मद शामीले आउट गराएका हुन् । उनले ५६ बलमा दुई छक्का र एक चौकाको मद्दतमा ४८ रन बनाए।

त्यसैगरी खेलको ४७ दशमलव चार ओरभमा नवौँ विकेटको रूपमा सन्दीप लामिछाने आउट भए । उनले १७ बल खेल्दै नौ रन बनाए । त्यस्तै ललित राजवंशी शून्य रनमा आउट हुँदा करण केसी दुई रनमा अविजित रहे । 

बलिङतर्फ भारतका रवीन्द्र जडेजा र मोहमद सिराजले समान तीन÷तीन विकेट लिए भने मोहम्मद शामी, हार्दिक पाण्डे र शार्दुल ठाकुरले समान एक÷ एक विकेट लिए । यस खेलमा जित हात पार्ने टोलीले सुपर फोरमा स्थान बनाउनेछ । 

सैँतीस दशमलव पाँच ओभर सकिँदा खेल वर्षाका कारण करिब ४५ मिनेट अवरुद्ध भएको थियो । त्यतिबेला नेपालले छ विकेटको क्षतिमा १७८ रन बनाएको थियो ।

नेपाल र भारतबीचको क्रिकेट खेलको तस्बिरहरु हेर्नुहोस् 
 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  २१:३९
प्रतिक्रिया दिनुहोस्