केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकप्रति आशंका नगर्न कानुनमन्त्रीको आग्रह

मंगलबार, भदौ १२, २०८०

काठमाडौँ– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकप्रति आशंका नगर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उक्त विधेयकमाथिको छलफलमा क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री गुरुङले गलत नियतका साथ उक्त विधेयक नल्याएको भन्दै आशंका नगर्न आग्रह गरेका हुन् ।

विधेयक ल्याउने क्रममा बिचौलिया हावी भएको सांसदहरुको प्रश्नप्रति उनले आफुले निष्ठाको राजनीतिक नछाडेको भन्दै उक्त भनाइप्रति आपत्ति जनाए । उनले आजका दिनसम्म आफु कहिँपनि नचुकेको र भोलीको दिन पनि नचूक्ने जिकिर गरे । निष्ठाको राजनीतिक गर्न नसकेको दिन आफुले राजनीति नै छाडिदिने उनको भनाइ छ ।

बैठकमा मन्त्री गुरुङले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस’ भन्ने प्रस्ताव भने पारित हुन सकेन । गणपूरक संख्या नपुगेपछि मंगलबार उक्त विधेयक अघि बढ्न नसकेको हो । सभामुख देवराज घिमिरेले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लाग्दा सांसदहरुले नियमापत्ति जनाएका थिए । सांसदहरुको नियमापत्तिपछि सभामुख घिमिरेले बैठकमा उपस्थित सदस्यको संख्या एकिन गर्न निर्देशन दिएका थिए ।

प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नका लागि प्रतिनिधिसभामा कायम रहेका सदस्यको एक चौथाई ६९ हुनुपर्नेमा ५९ मात्रै पुगेपछि बैठक स्थगित भएको हो । प्रतिनिधिसभाको अर्को बैठक भदौ १८ गते सोमबार बोलाइएको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १८:४७
प्रतिक्रिया दिनुहोस्