चन्द्रमाको सतहमा ठोक्कियो रूसी यान

आइतबार, भदौ ३, २०८०

एजेन्सी - रुसको लुना २५ यान चन्द्रमामा ध्वस्त भएको छ । नियन्त्रणबाहिर पुगेपछि यो चन्द्रयान ठोक्किएको हो । 

रुसले ४७ वर्षपछि चन्द्रमामा आफ्नो यान अवतरण गराउने प्रयास गरेको थियो । यो मिशन सफल भएको भए चन्द्रमाको दक्षिणी ध्रुवमा यान पठाउने रुस पहिलो देश हुने थियो । यसअघि १८ अगस्ट, १९७६ मा रूसी यान लुना २४ चन्द्रमाको सतहमा पुगेको थियो । 

लुना २५ त्यस्तो ठाउँमा जाँदै थियो, जहाँ बरफ र अन्य महत्वपूर्ण तत्वहरु रहेको पूर्वानुमान वैज्ञानिकहरुले गर्दै आएका छन । 

रुसी स्टेट स्पेस कर्पोरेशन रोमस्कसले आइतबार बिहान विज्ञप्ति जारी गर्दै शनिबारदेखि लुना २५ सम्पर्क विहिन रहेको जनाएको छ । ‘यो यान नसोचेको अर्बिटमा पुग्यो र चन्द्रमाको सतहमा ठोक्किएपछि अस्तित्वविहिन बन्यो,’ विज्ञप्तिमा भनिएको छ । 

चन्द्रमाको दक्षिण ध्रुवमा पुग्नका लागि भारत र रुसबीच प्रतिस्पर्धा चलिरहेको थियो । १४ जुलाईमा श्री हरिकोटास्थित सतिश धवन अन्तरिक्ष केन्द्रबाट लन्च गरिएको भारतीय चन्द्रयान  चन्द्रमाको निकै नजिक पुगेको छ । चन्द्रयान ३ को ल्यान्डर मोड्युलले आज आफ्नो दोस्रो र अन्तिम डि–आर्बिटिङ पूरा गरेको छ । 

यो ल्यान्डर २३ अगस्टमा चन्द्रमाको सतहमा पुग्‍ने आशा गरिएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १५:५७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार