संसद्को गतिरोध अन्त्य गर्न ओलीलाई राष्ट्रपतिको सुझाव

बुधबार, साउन ३१, २०८०

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई संसद्को गतिरोध हटाएर अघि बढ्न सुझाव दिएका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा बुधबार भएको भेटमा समसामयिक राजनीति र संसद्का गतिरोधकाबारे छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा निराशा बढ्ने र संसदप्रति नै नकारात्मक प्रभाव पर्ने भएकाले संसद् गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराएका थिए ।

सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन गर्नुपर्ने माग गर्दै नेकपा एमालेले १० साउनदेखि संसद अवरोध गरिरहेको छ । प्रमुख राजनीतिक दलहरुबीच यस विषयमा भएको छलफल निष्कर्षमा पुग्न सकेको छैन ।

राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसदमा रहेका सबै दलहरूलाई विश्वासमा वातावरण सिर्जना गरेर अघि बढ्न सुझाव पनि दिएका पनि पोखरेलको भनाइ छ । प्रमुख प्रतिपक्षी दलका नेता ओलीले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १४:३८
प्रतिक्रिया दिनुहोस्