भारतकाे ७७औं स्वतन्त्रता दिवस आज, लालकिल्लाबाट मोदीले सम्बोधन गर्दै

मंगलबार, साउन ३०, २०८०

नयाँदिल्ली - भारतमा मंगलबार अर्थात अगस्ट १५ मा ७७औँ स्वतन्त्रता दिवस मनाइँदैछ।

सन् १९४७ अगस्ट १५ मा भारत बेलायतबाट स्वतन्त्र भएको थियो। भारतमा शासन गरिरहेको बेलायती सरकार आजकै दिन भारत छोडेर भागेको थियो। त्यसपछि भारत बेलायती साम्राज्यबाट मुक्त भएको थियो।

त्यही दिनको सम्झनामा स्वतन्त्रता र मुक्तिको स्मरण गर्दै आज भारतीय नागरिकले स्वतन्त्रता दिवस मनाउने गरेका हुन्। आफ्नो ७७ औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी नयाँदिल्लीको लालकिल्लाबाट सम्बोधन गर्ने कार्यक्रम छ ।

स्वतन्त्रता दिवसको अवसरमा लालकिल्लाबाट हुने सम्बोधन यसपालि मोदीको १०औं हो । पछिल्ला १० वटा स्वतन्त्रता दिवसमा उनी नै प्रधानमन्त्री छन् । यसैबीच भारतको यस स्वतन्त्रता दिवसका अवसरमा नयाँ दिल्लीमा कडा सुरक्षा व्यवस्था गरिएको छ ।

नयाँ दिल्लीका बस पार्कहरु, रेलमार्ग र स्टेसनहरु तथा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च सुरक्षा सतर्कतामा राखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन।

नयाँ दिल्ली गेट वरिपरि लालकिल्लालगायतका क्षेत्रमा पनि सुरक्षाको कडा प्रबन्ध गरिएको छ । काठमाडौंस्थित भारतीय दूतावासले पनि आज एक कार्यक्रमको आयोजना गरी भारतको ७७औं स्वतन्त्रता दिवस मनाउँदैछ ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ०८:१९
प्रतिक्रिया दिनुहोस्