गाँजा खेती नष्ट गर्न घरघरमा प्रहरी

आइतबार, साउन २१, २०८०

सुरुङ्गा – बाह्रदशी गाउँपालिकामा हुँदै आएको गाँजा खेती प्रहरीले घरघर पुगेर नष्ट गरेको छ ।

बाह्रदशी गाउँपालिका–७ स्थित डाँगीवारी आसपासमा हुने गरेको गाँजा खेती प्रहरीले नष्ट गरेको हो । इलाका प्रहरी कार्यालय घैलाडुब्बाको प्रहरीको टोलीले विशेष सूचनाका आधारमा गाँजा खेती नष्ट गरेको बताइएको छ । 

इलाका प्रहरी कार्यालय घैलाडुब्बाका प्रहरी निरीक्षक निराजन कटुवालको नेतृत्वमा गएको प्रहरी टोलीले स्थानीय जनप्रतिनिधिको रोहवरमा गाँजा खेती नष्ट गरेको हो । औषधिका लागि भन्दै त्यस क्षेत्रका स्थानीयवासीले गाँजा खेती गर्दै आएको इलाका प्रहरी कार्यालय घैलाडुब्बाका प्रहरी निरीक्षक कटुवालको भनाइ छ । 

विशेषगरी आदिवासी समुदायले करेसाबारीमा गाँजा खेती गर्ने गरेको र लुकीछिपी सेवन तथा बिक्री वितरण गर्ने गरेको बताइएको छ । गाउँमा गाँजा खेती हुने गरेको र युवा गाँजासहित लागुऔषधको लतमा फस्न सक्ने जोखिम बढेको भन्दै प्रहरीलाई विशेष सूचना आएसँगै अभियान नै चलाएर बाह्रदशी गाउँपालिका क्षेत्रमा गाँजा खेती नष्ट गरेको प्रहरीले जनाएको छ । 

पछिल्लो समय युवा पुस्ता कुलतमा फस्ने क्रम बढेसँगै स्थानीयवासीले समेत प्रहरीलाई लागुऔषध दुर्व्यसन र गाँजा खेती न्यूनीकरणमा सहयोग पुर्‍याउँदै आएको बताइएको छ । 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १८:४८
प्रतिक्रिया दिनुहोस्