रूसले ‘विश्वव्यापी विपत्ति’ निम्त्यायो : युक्रेनी राष्ट्रपति जेलेन्स्की 

बिहीबार, साउन १८, २०८०

कीएभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओडेसा बन्दरगाहको पूर्वाधारमा भएको आक्रमणले मस्कोको ‘विश्वव्यापी विनाश’ सिर्जना गर्ने मनसाय देखाएको बताएका छन् । 

मस्कोले विश्व खाद्य बजारमा अभाव, मूल्य वृद्धि र आपूर्तिमा अवरोध सिर्जना गरेको आरोप उनले लगाए । “रूसका लागि हाम्रो स्वतन्त्रता र देशविरुद्धको लडाइँ मात्र होइन,” जेलेन्स्कीले बुधबार भिडियो सम्बोधनमा भने “उसले विश्वव्यापी विपत्तिको विरूद्धमा लडिरहेको छ ।”

उनीहरूलाई विश्व खाद्य बजार ध्वस्त होस् भन्ने चाहन्छन्, मूल्य सङ्कट चाहिएको छ, आपूर्तिमा अवरोध चाहिएको छ,” जेलेन्स्कीलाई उद्धृत गर्दै अल जजिराले भनेको छ ।

युक्रेनी क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेह किपरलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार बुधबार बिहानै कीएभमा ड्रोन आक्रमण भएपछि ओडेसा क्षेत्रको बन्दरगाह र औद्योगिक संरचनामा क्षति पुगेको थियो । रूस र युक्रेन दुवैले मङ्गलबार एकअर्कामाथि सीमापार आक्रमण गरेको आरोप लगाएपछि यो कदम चालिएको हो ।

यसैबीच युक्रेनले बुधबार बिहान कीएभमा १० वटा ड्रोन खसालेको केही समयपछि नै आक्रमण भएको सीएनएनले जनाएको छ । कीएभ नगर सैन्य प्रशासनका प्रमुख सेर्ही पोप्कोले बुधबार बिहान एक टेलिग्राम पोस्टमा किभमाथि १० वटा ड्रोन खसालेको पुष्टि गरेका छन् ।

राष्ट्रपति जेलेन्स्कीले आइतबार रूसमा युद्ध ‘बिस्तारै फर्कँदै गएको’ चेतावनी दिँदै यो ‘अपरिहार्य, प्राकृतिक र पूर्णतया निष्पक्ष प्रक्रिया’ भएको बताएका थिए । 

युक्रेनका राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा जेलेन्स्कीले भने, “युद्धभूमिमा रूसी आक्रामकता दिवालिया भएको छ । रूसी नेतृत्वले एक वा दुई हप्तासम्म चल्ने अनुमान गरिएको तथाकथित ‘विशेष सैन्य अभियान’ को आज ५२२ औं दिन हो ।

यूक्रेन मजबूत बन्दै गइरहेको छ । बिस्तारै, युद्ध रूसको प्रतीकात्मक केन्द्रहरू र सैन्य आधारहरूमा फर्किरहेको छ र यो एक अपरिहार्य, प्राकृतिक र बिल्कुल निष्पक्ष प्रक्रिया हो,” उनले भने ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १८:३९
प्रतिक्रिया दिनुहोस्