अन्तर्राष्ट्रिय सीमाक्षेत्रको अनधिकृत बस्ती हटाइयो

शनिबार, साउन १३, २०८०

लालबन्दी– सर्लाहीको अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा वर्षौँदेखि अनधिकृतरूपमा बसेको बस्तीलाई हटाइएको छ ।

सर्लाहीस्थित १० नं सशस्त्र प्रहरी बल र भारततर्फका सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त प्रयासबाट अतिक्रमित क्षेत्र खाली गराइएको हो । 

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गोडैता नगरपालिका–१२ मधुवनी बस्तीमा अवस्थित दशगजा क्षेत्रमा नेपाल र भारत दुवैतर्फका नागरिकले अतिक्रमण गरी निर्माण गरिएको घर, पसल तथा पशुगोठजस्ता संरचना हटाइएको बताए । उनले सदरमुकाम मलङ्गवाबाट १५ किमी पश्चिम–दक्षिणमा पर्ने नेपालतर्फका मधुवनी बस्ती र भारततर्फको मेजरगञ्ज प्रखंड, बहेरा ग्राम पञ्चायत वडा नं १२ को दशगजा क्षेत्रको ४१ वटा घरटहरा तथा पशुगोठजस्ता संरचना हटाइएको जानकारी दिए ।

यस दशगजा क्षेत्रमा अन्तर्राष्ट्रिय पिलर नम्बर ३३६, ३३६ (१, २ र ३) जस्ता बिजोर सीमास्तम्भ भारत सरकारले बनाएको छैन भने जोर पिलर नेपाल सरकारले निर्माण सम्पन्न गरेको बताइएको छ । भारत सरकारले स्तम्भ नबनाउँदा सीमास्तम्भको स्थानमा बाँस तथा साना पत्थर राखेर अन्तर्राष्ट्रिय  सीमा छुट्याइएको छ ।

त्यसैगरी विष्णु गाउँपालिका–५ फेन्हरा तथा भारततर्फ जिल्ला सीतामढी बगाहा ग्रामपञ्चायत–२ मा पर्ने दशगजा क्षेत्रमा २८ वटा पक्की तथा फुसको घरटहरा हटाइएको बताइएको छ । सीमा अतिक्रमण गरी बसेका व्यक्तिले सीमास्तम्भ छोपिने गरी घर निर्माण गरेको मधुवनी बस्तीका अभिताभ कुशवाहले बताए । 

जिल्लाको बलराबाट सङ्ग्रामपुरसम्मको ४२ किलोमिटर सीमाक्षेत्रमा पर्ने ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगर सेखटोल र भारततर्फ जिल्ला सीतामढी सोनवर्षा ग्रामपञ्चायत–८ सोनवर्षामा आठवटा घर तथा पसल हटाइएको छ । यहाँ सीमाक्षेत्र अतिक्रमण गरी दशगजाको पिलर पार गरेर त्रिभुवन नगरको पुलछेउसम्म नै आएर भारतीयले टहरा बनाउने, पसल थाप्ने गरिरहेका थिए । 

पछिल्लो समय नेपाल–भारत सीमाक्षेत्र स्वतन्त्ररूपमा छुट्याइएपछि दुवै मुलुकका सुरक्षाकर्मीले आ–आफ्नो भूमि प्रयोग गरी सीमाक्षेत्रको रेखदेख गरिरहेका छन् ।

त्यस्तै बलरा नगरपालिका–५ अर्नाहा र भारततर्फ जिल्ला सीतामढी सिजुवा ग्रामपञ्चायत–३ बेलवा सीमाक्षेत्रको चारवटा घरटहरा हटाइएको छ । प्रजिअ इन्द्रदेव यादवले भारतको सीतामढी जिल्लासँग जोडिएको सर्लाहीको ४२ किलोमिटर क्षेत्रको सीमा अतिक्रमण लगभग खाली गराइएको बताए । –रासस

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  २१:०८
प्रतिक्रिया दिनुहोस्