निलम्बित डिएसपी ठगबहादुर केसी बर्खास्त 

मंगलबार, साउन ९, २०८०

काठमाडौँ– नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई प्रहरी सेवाबाट बर्खास्त गरिएको छ । 

प्रहरी प्रधान कार्यालयले गरेको सिफारिसअनुसार गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले केसीलाई आज बर्खास्त गरेको प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले  जानकारी दिए । उनका अनुसार प्रहरी नायब उपरीक्षक केसीलाई भविष्यमा अयोग्य नठहरिने गरी आजका मितिदेखि बर्खास्त गर्ने निर्णय गरिएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलमा रहँदा केसीले सुन व्यापारी किसन विकसँग ‘घुस’ लिएको घटनामा उनी निलम्बनमा परेका थिए । प्रहरी प्रधान कार्यालयले केसीलाई बर्खास्त गर्न असार दोस्रो साता गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  २१:२७
प्रतिक्रिया दिनुहोस्