विपी राष्ट्रिय पुरस्कार ४ जनालाई प्रदान

राजनीतिक दर्शनतर्फ वरिष्ठ राजनीतिज्ञद्वय कुलबहादुर गुरुङ  र ढुण्डीराज पौडेललाई, साहित्य विधातर्फ देवीप्रसाद उपाध्याय रेग्मी र गिरीराज आचार्यलाई
शनिबार, साउन ६, २०८०

काठमाडौँ– जननायक विश्वेश्वरप्रसाद कोइरालाको नाममा स्थापित राष्ट्रिय पुरस्कार चार जनालाई प्रदान गरिएको छ । 

विपी कोइरालाको स्मृति दिवसका अवसरमा शनिबार विपी सङ्ग्राहलय सुन्दरीजल आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले विपी राजनीतिक दर्शनतर्फ दुई र साहित्य दर्शनतर्फ दुई जनालाई उक्त पुरस्कार प्रदान गरेको हो ।

कार्यक्रममा उपप्रधान एव रक्षामन्त्री पूर्ण बहादुर खड्का, पर्यटनमन्त्री सुदन किराँती लगायतले राजनीतिक दर्शनतर्फ वरिष्ठ राजनीतिज्ञद्वय कुलबहादुर गुरुङ  र ढुण्डीराज पौडेललाई उक्त पुरस्कार प्रदान गरे ।  ।

त्यस्तै साहित्य विधातर्फ देवीप्रसाद उपाध्याय रेग्मी र गिरीराज आचार्यलाई उक्त पुरस्कार प्रदान गरिएको हो । 

पुरस्कारको राशि जनही एक लाख रूपैयाँ रहेको छ । पुरस्कार वितरण समारोहमा उपप्रधान एवं रक्षामन्त्री खड्काले मुलक निर्माणको नयाँ बेगमार्फत मुलुकको आर्थिक बिकासलाई अघि बढाउनुपर्ने बताउनुभयो । जनता र मुलुकप्रति इमान्दारीपूर्वक अघि बड्न सके विश्वेश्वरप्रसाद कोइरालाको मुलुक बनाउने सपना साकार हुने उनले बताए ।।

त्यस्तै पर्यटनमन्त्री सुदन किराँतीले नेपाली माटोमा आधारित राजनीतिक बिचारधाराहरु अघि बढाउन नसक्दा कतै दुखः पाएको छौ कि भनेर विपीलाई सम्झने गरेको बताए । उनले संस्कृति र प्रकृतिमैत्री बिकासको बाटो अवलम्वन गर्न सके विपीले भनेको बिकासको मोडल अघि बढ्न सक्ने उल्लेख गरे ।

कार्यक्रममा विपी सङ्ग्राहलय सुन्दरीजलमा बृक्षारोपण गरिएको थियो । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको विक्रम संवत् २०३९ साउन ६ गते निधन भएको थियो । 

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १८:०९
प्रतिक्रिया दिनुहोस्